समाचार
ब्राजिलमा मार्क्सवाद पढाएर फर्किए नेपाल र श्रेष्ठ

काठमाडौँ, २९ जेठ । नेपाल कम्युनिष्ट पार्टीका दुई नेता ब्राजिलमा मार्क्सवाद पढाएर स्वदेश फर्किएका छन् । नेकपामा वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ मंगलबार स्वदेश फर्किएका हुन् ।
ब्राजिलको फ्लोरेस्टन फर्नान्डेज नेसनल स्कूलको अध्ययन भ्रमणमा गएका नेताद्वयले नेपालमा मार्क्सवादी स्कूल सञ्चालनको बारेमा छलफल गरेको बताएका छन् । नेपालमा मार्क्सवादबारे नियमित कक्षा चलाउन मदन भण्डारी एसियन स्कूल स्थापना गर्ने तयारी छ ।
नेताहरुले ब्राजिलमा उक्त स्कुलको प्रशिक्षण कार्यक्रममा समेत सहभागी भएर शिक्षण सिकाइको अनुभव पनि ग्रहण गरेको बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेताहरुले नेपालमा कम्युष्टि पार्टीको एकताले विश्व समुदाय खुशी भएको बताए । वरिष्ठ नेता नेपाल र प्रवक्ता श्रेष्ठले नेपालमा मार्क्सवादी स्कूल स्थापनाबारे अध्ययन गरिएको बताए ।
पूर्व प्रधानमन्त्री समेत रहेका नेकपाका वरिष्ठ नेपालले नेपाल कम्युनिस्ट पार्टीको एकीकरणले अन्तर्राष्ट्रिय समुदाय खुसी रहेको बताउँदै नेकपाको एकताले अन्तर्राष्ट्रिय समुदाय र विशेष गरी विश्वका कम्युनिष्टलाई उत्साह जगाएको दावी गरे ।
प्रवक्ता श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टीले प्राप्त गरेको सफलताका विषयमा पनि अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीहरुसँग छलफल गरिएको बताए । उनले नेपाल कम्युनिष्ट पार्टीको सफलताका कारणबारे विश्वका सबै कम्युनिष्ट पार्टीहरुले गहिरो चासो व्यक्त गरेको पनि जानकारी दिए ।


