खेलकुद
विश्वविजेता जर्मनीलाई हराएको अष्ट्रियामाथि ब्राजिलको सहज जित

एजेन्सी । विश्वकपको पूर्वसन्ध्यामा भएको मैत्रीपूर्ण खेलमा ब्राजिलले जित हात पारेको छ । विश्वकपको तयारीमा रहेको ब्राजिलले अष्ट्रियामाथि ३–० गोलअन्तरले पराजित गरेको हो । आइतबार राति अष्ट्रियाको भिएनामा भएको खेलमा घरेलु टोली अष्ट्रियालाई ब्राजिलले सहज जित निकालेको हो । ब्राजिलको जितमा गाब्रियल जेसुस, नेयमार र फिलिप्पे कौन्टिहोले गोल गरे ।
खेलको ३६औं मिनेटमा जेसुसले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा ब्राजिलले १–० गोलको अग्रता बनाएको थियो भने दोस्रो हाफमा थप २ गोल गर्दा अष्ट्रियाले भने गोल गर्न सकेन । खेलको ६३औं मिनेटमा नेयमारले गोल गर्दै ब्राजिललाई दोब्बर अग्रतामा पु¥याएका थिए । खेलको ६९औं मिनेटमा फिलिप्पेले गोल गरेपछि ब्राजिलले ३–० गोलको जित निकालेको हो ।
यसअघि भएको मैत्रीपूर्ण खेलमा भने अष्ट्रियाले विश्व विजेता जर्मनीलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । अष्ट्रिया भने विश्वकपमा छैन ।

