समाचार
छिरिङ गुरुङको बयान: म छिरिङ वाङ्दा हो छिरिङ वाङ्देल अर्कै होला (बयानसहित)

काठमाडौँ, २१ जेठ । सुन तस्करी एवं सनम शाक्य हत्याका आरोपी डा.डेभिट भनिने छिरिङवाङ्दा गुरुङले आफू सुन तस्करीमा संलग्न नभएको बताएका छन् । उनले आफ्नो जस्तै नाम गरेको अर्काे कुनै व्यक्तिले गरेको हुनसक्ने र आफूलाई फसाएको हुनसक्ने आरोप लगाएका छन् ।
मोरङ जिल्ला अदालतमा बयान दिने क्रममा उनले आफू छिरिङ वाङ्दा गुरुङ भएको तथा गोरेले भनेको छिरिङ वाङ्देल भन्ने अर्कै हुन सक्ने बताएका छन् । उनले आफू डा. डेभिट नभएको बयान दिएका छन् । यद्यपी, उनले सुन तस्करीका विषयमा गोरेको समूहसँग छलफल भएको भने स्वीकार गरेका छन् । उनको बयान आफैमा बाझिएको छ ।
उनले हराएको साढे ३३ किलो सुनका विषयमा थाई एयरवेजका कर्मचारीसँग श्रृंखलाबद्ध छलफल भएको स्वीकारेका छन् । उनले सांग्रिला होटलमा भएको छलफलमा भुजुङसँगै थाई एयरवेजका दुई कर्मचारी भएको बताएका छन ।
यस्तै पशुपति नजिकै एक होटलमा चुडामणि उप्रेती गोरेको ग्यांगसँग हराएको साढे ३३ केजी सुनबारे पनि छलफल भएको गुरुङले खुलासा गरेका छन् । गोरेका केटाहरुले हराएको साढे ३३ केजी सुनको खोजतलास गर्ने भन्दै तिलगंगा हस्पिटल छेउको होटलमा बोलाई गुरुङ लगायत थाई एयरका कर्मचारीहरु समेत राखी छलफल गराएको उनले बताएका छन् । उनलाई जिल्ला अदालत मोरङको आदेशले पूर्पक्षका लागि आइतबार जेल चलान गरिएको छ ।
यस्तो छ गुरुङले मोरङ जिल्ला अदालतमा दिएको बयान :
मेरो नाम अभियुक्त पत्रमा डा.डेभिट भन्ने छिरिङ वाङ्गले घले लेखिए तापनि सो नभई छिरिङ वाङ्दा गुरुङ हो । बुवाको नाम घले धावा गुरुङ । उमेर ५२ वर्ष भयो । मोटर पार्टसको व्यापार गर्दछु, घर साविक मनाङ भइ काठमाडौं नागार्जुन नगरपालिका वडा नं. ४ सितापाईलामा बस्छु ।
रामबहादुर थापाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी म समेत भएको अपराधी समूह स्थापना र सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार र अपरहण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्धामा निवेदन साक्ष बयानको लागि हाजिर भएको हो ।
जाहेरवाला तथा मृतकलाई चिन्दिन । प्रतिवादीहरु मध्ये भुजुङ गुरुङलाई चिन्दछु । उहाँ नातामा भिनाजु पर्नुहुन्छ । अन्य प्रतिवादीहरु कसैलाई पनि चिन्दिन । भुजुङ गुरुङसँग डाइड्रोपावरको विषयमा सामान्य वादविवाद भएको थियो ।
म पोखरानिर जग्गा प्लटिङ्गको काम पनि गर्छु । म उपर मुद्दा परेको छ भनी मेरो घर परिवारले थाहा पाई मलाई खबर गरेपछि हाल निवेदन दिई सम्मानित अदालतमा हाजिर हुन आएको हुँ ।
म पहिला गउँमै कफी व्यवसाय गर्दथें । १६/१८ वर्षको उमेरमा म काठमाडौं छिरेको हो । काठमाडौं आएपछि नेपाली हस्तकलाका सामानहरु मलेशियातिर लगेर बेचविखन गर्दथें । मेरो एकजना नातेदार दाईले जापानबाट पुरानो मोटरपार्टस् सामानहरु ल्याउनुहुन्थ्यो । त्यसपछि त्यही सामानहरु म काठमाडौं बसेर बच्थें । १५ वर्षजति मोटरपार्टसको व्यापार चलाई हाल उक्त पसल बेचेर अहिले जग्गा प्लटिङ्गको काम गर्छु । जग्गाको कारोबारमा म काठमाडौं उपत्यका र बाहिर पनि गर्छु ।
प्रतिवादी भुजुङ गुरुङ निजका परिवारहरु काठमाडौंमा बस्नुहुन्थ्यो । हामी गाउँमा नै बस्ने गर्दथ्यौं । मनाङमा रहँदा बस्दा हाम्रो चिनजान थिएन । पछि म पनि कामको शिलशिलामा काठमाडौं आएपछि भुजुङसँग भेट भएको हो । निज प्रतिवादी भुजुङ भिनाजु नाताका पर्ने गाउँ घर समाजको मानिस समेत भएकाले काम पर्दा स्वभाविक रुपले भेटघाट हुने गर्दथ्यो । भुजुङ गुरुङ ठूलो मानिस, म सानो मानिस उहाँ काठमाडौंमा होटल मनाङ संचालन गर्नुहुन्थ्यो ।
भुजुङको कामबारे थाहा भएन । मेरो नाम डेभिट र डा. भन्ने होइन । मेरो नाम छिरिङ वाङ्दा गुरुङ हो निज भुजुङ गुरुङ भिनाजु नाता पर्ने भएपनि उनलाई मेरो सही नाम नै थाहा रहेनछ । विस २०४४/०४५ तिर म मोटरपार्टस् को काम गर्थें । भुजुङ के गर्थे थाहा भएन । उनी सुनको काम गर्थे कि गर्दैनथे थाहा भएन ।
भुजुङ गुरुङ गाउँकै मानिस भएकाले गाउँघरका समस्या लिएर हामी उहाँकहाँ जान्थ्यौं । पछि ७४ सालतिर हाइड्रोपावर लगानी गर्ने विषयमा उनीसँग छलफल भएको थियो । उहाँले मलाई हाइड्रोपावरमा लगानी गर्नु राम्रो फाइदा हुन्छ भनेपछि मैले उहाँसँग १ करोड १६ लाखमा शेयर किनेँ । पछि निजले मलाई उक्त शेयर पनि नामसारी गरिदिएनन् । सो विषयमा सामान्य विवाद थियो । मैले प्रतिवादी गुरुङसँग कहिल्यै पनि सुनको कारोबार गरिन । सुनमा लगानी गर्ने भनिएका एमके लग्रवाल सहितका मानिसलाई म चिन्दिन ।
निजलाई अनुसन्धानमा टर्चर दिएर कारोबार सम्बन्धि बाबादलाई लिएर मेरो नाम लिए होलान । मैले सुन तस्करी गर्ने काम कहिलेपनि गरिनँ । काठमाडौं साँग्रिला होटलमा भुजुङ गुरुङसँग विवाद भएको अवस्थामा थाई एयरलाइन्सका दुईजना कर्मचारीलाई पनि त्यहाँ भएकाले निजी कुरा छ भने केही बोलेको थिएनन् । सोही पछि म घर गएपछि गोरे भन्ने चुडामणि उप्रेतीले थाई एयरका कर्मचारीलाई यातना दिएर होला वा उनीहरुले आफू बच्नको लागि प्रहरीले टर्चर दिएर यस्तो बयान गरे होलान ।
मैले न्युजबाट गोरे भन्ने चुडामणि उप्रेती र निजका केटाहरुले हराएको साढे ३३ केजी सुनको खान तलास गर्ने काममा उर्लाबारीको जंगलमा लगी मृतक सनम शाक्यलाई करेन्ट लगाई यातना दिँदा निज मृतक सनम शाक्यको मृत्यु भएको सुनेको हो अन्य कुरा थाहा भएन । निजहरुको वयान व्यहोराबारे मलाई थाहा भएन । उल्लेखित मुचुल्का तथा घटना लगायतका मुचुल्काका बारेमा मलाई थाहा भएन । निजहरुको वयान व्यहोराबारे मलाई थाहा छैन ।
म गोरे भन्ने चुडामणि उप्रेतीलाई चिन्दिन । एकपटक गोरे भन्ने चुडामणि उप्रेतीका केटाहरुले हराएको साढे ३३ केजी सुनको खोजतलास गर्ने भन्दै तिलगंगा हस्पिटल छेउको होटलमा बोलाई म लगायत थाई एयरका कर्मचारीहरु समेत राखी छलफल गराएका हुन् । दोस्रो पटक निज गोरे भन्ने चुडामणि उप्रेतीका केटाहरुले सोही होटलको छेउछाउमा रहेको होटलमा बोलाई छलफल गराएका हुन् ।
म सुन सम्बन्धी कारोबार नगर्ने मानिस हुँदा छलफलमा सो बारेमा थाहा भएन भनी भनेको थिएँ । गोरे भन्ने चुडामणि उप्रेती के काम गर्छन् मलाई थाहा भएन । निजले अदालतमा गएर मुद्दा वयान गर्नुको कारण अन्य समूहका मनिसलाई बचाई मलाई फसाउनको लागि हुनुपर्छ । गोरेले भनेको छिरिङ गुरुङकै लागि हुनुपर्छ । गोरेले भनेको छिरिङ वाङ्देल गुरुड्ङ हो । म सुनसम्बन्धी कारोबार नगर्ने हुँदा निर्दोष छु ।
उल्लेखित रजिस्टरको बारेमा मलाई थाहा मलाई थाहा भएन । यो रजिस्टर के कहाँबाट कसरी बरामद भयो त्यो पनि थाहा भएन । रजिस्टरमा उल्लेखित मानिसहरु म चिन्दिनँ म सुनको कारोबार गर्दिन । रजिस्टरमा उल्लेखित A Aang छिरिङ DR भन्ने मानिस म होइन । निज गोरे भन्ने चुडामणि उप्रेतीले आफू तथा आफ्ना समूहका मानिसहरुलाई बचाउन त्यस्तो लेखाएको हुनुपर्छ । मेरो नाम छिरिङ वाङ्ले गुरुङ हो । रजिस्टरमा उल्लेखित मानिस अर्कै छिरिङ पनि हुनसक्छ, म होइन । कसैको सेटिङ मिलाउने वा कसैको घर माझमा गएर खोतल्ने कुरा नै आउँदैन ।