काठमाडौं १२ बैशाख । हर्वो इन्टरनेशनल नेटवर्किङ व्यवसाय गरेर करोडौं ठगी गरी हाल सन्यासी जीवन बिताइरहेका पुष्पराज पौडेल (पुष्पराज पुरुष)ले अर्काको नाममा रहेको जग्गाको नक्कली लालपूर्जा बनाएर बेचेको खुलासा भएको छ । किर्ते गरी ठगी गरेको अभियोगमा पुष्पराज पुरुष पक्राउ परेका हुन् ।
पुष्पराज पुरुष राप्रपाका केन्द्रीय सदस्य छन् । नक्कली लालपुर्जा पेश गरी ८ करोड ३७ लाख रुपैयाँ ठगी गरेको आरोपमा राप्रपा केन्द्रीय सदस्यसमेत रहेका पुरुष परेका हुन् । हर्वो चलाउन पुष्पराजले हाम्रो ग्रुपबाट ऋण लिएका थिए । तर पछि लिएको रकम तिर्न नसकेपछि उनले आफूले लिएको पैसा बराबरको जमिन उपलब्ध गराउने बताए । हर्वोमाथि कारबाही भएपनि हाम्रो ग्रुप सञ्चालक समितिको अध्यक्ष भने पुष्पराज नै थिए ।
पुरुषले पर्सा मनहरीको रुदल राउतको नाममा रहेको साढे १६ कठ्ठा जग्गाको नक्कली लालपुर्जा बनाएर हाम्रो ग्रुप अफ ईन्भेष्टमेन्टमा पेस गरी बेचेको खुलासा भएको छ । ठगीको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो । उनिसगै काठमाडौं प्रहरीले नक्कली पूर्जा बनाएर ठगी गरेको आरोपमा गोकुल श्रेष्ठलाई पनि पक्राउ गरेको छ । तत्कालीन समयमा हर्वो इन्टरनेशनल नेटवर्किङका अध्यक्ष गोकुल श्रेष्ठ थिए।
पुष्पराज पुरुषपछि हाम्रो ग्रुप अफ कम्पनीमा नयाँ सञ्चालक समिति आयो । समितिले कम्पनीको नामसमेत परिवर्तन गर्दै गोर्खा ग्रुप अफ कम्पनी राख्यो ।
गितेन्द्रबाबु राई कार्यकारी अध्यक्ष रहेको समितिले कम्पनीको नाममा रहेको भनिएको जमिन हेर्न एउटा टोली पर्सा पठायो । तर टोलीले आफ्नो कम्पनीको नाममा रहेको भनिएको जमिन पर्साका रुदन राउतको नाममा रहेको भेट्टायो । यो कार्यमा पुष्पराजसँगै हाल गोर्खा कम्पनीकै सञ्चालक समिति सदस्य रहेका गोकुल श्रेष्ठ पनि संग्लन रहेको भेट्टिएको महानगरीय प्रहरी परिसरका डिएसपी मोहन थापाले बताए ।
थापाका अनुसार उनीहरुमाथि किर्ते र ठगि मुद्दा चलाइएको छ । नक्क्ली लालपूर्जा काठमाडौंको सुन्धारास्थित एक होटलमा बनाएको अनुसन्धाबाट खुलेको छ । थापाका अनुसार पुष्पराजले आफूले गल्ती गरेको बयानमा स्वीकारसमेत गरिसकेका छन् ।
हर्बो नामक नेटवर्क कम्पनीमा पौडेल उपाध्यक्ष रहेकोमा हाम्रो ग्रुपले आर्थिक लगानी गरेको थियो । अवैध नेटवर्किङ व्यवसाय गरेको भन्दै हर्बो कम्पनीका सञ्चालकहरु पक्राउ परेका बेला पौडेल र श्रेष्ठ पनि केन्द्रिय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो ।


