समाचार
चौधरी ग्रुपको मध्यमोदीको काम पुनःसञ्चालन
काठमाडौँ,१६ माघ । पाँच दिनदेखि ठप्प बनेको मध्यमोदी जलविद्युत् आयोजनाको निर्माणकार्य पुनःसञ्चालन भएको छ ।चौधरी ग्रुपले मोदी गाउँपालिकामा निर्माण गरिरहेको १४।५ मेगावाट क्षमताको सो आयोजनाको काम स्थानीयवासीको आन्दोलनका कारण रोकिएको थियो । स्थानीयवासीका माग पूरा गर्न आयोजना पक्ष सहमत भएपछि निर्माण पुनः थालिएको हो । आयोजनाको सुरुङ निर्माण गर्दा स्थानीयवासीको घरमा क्षति पुगेको भन्दै उनीहरुले क्षतिपूर्तिको माग गरी आन्दोलन थालेका थिए ।

मोदी गाँपालिका–२ मख, ठाना, कल्लेनी र ओख्लेमा घरमा क्षति पुगेपछि स्थानीयवासी आक्रोसित भएका छन् । भूगर्भविद्ले दिएको प्रतिवेदनका आधारमा मोदी गाउँपालिका र आयोजना पक्षले संयुक्त प्राविधिक टोली खटाउने, प्राविधिक टोलीले घरको मूल्याङ्कन गरी पुनःनिर्माण वा प्रवलीकरण गर्दा लाग्ने लागत योजना तयार गर्ने र सोही आधारमा आयोजनाले घरधनीलाई रकम उपलव्ध गराउने सहमति भएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो ।


