समाचार
गाउँपालिका अध्यक्षले प्रस्तुत गर्नु भएको पूर्ण पाठ

पहिला म भुम्लु ७ र ८ का सम्पूर्ण जनसमुदायलाई हार्दिक बधाई दिन चाहन्छु ।
आज भुम्लु गाउँपालिका आधा शताब्दीपछि एउटा ऐतिहासिक दिनको रूपमा दर्ज भएको छ । २०३२ सालदेखि जग्गाधनी पुर्जा विहिन रहेका नागरिकको हातमा आज, ५० वर्षपछि, पुर्जा पुगेको छ । यो दिन ल्याउन हामी सबैको महत्वपूर्ण भूमिका रहेको छ ।
आदरणीय जनसमुदाय !
म स्वयं पनि पुर्जा विहिन वडा नं. ७ को नागरिक हुँ । २०३२ साल भन्नाले मेरो जन्मभन्दा करिब ७ वर्ष अगाडिको कुरा हो । आज म त्यही वडामा जन्मेर हुर्केर भुम्लु गाउँपालिकाको सरकार प्रमुख हुने अवसर पाएँ र त्यस लगत्तै मैले वडा नं. ७ र ८ को जग्गाधनी पुर्जासम्बन्धी समस्यामा गहिरो अध्ययन सुरु गरेँ ।
यो समस्या त्यतिबेलाका सामाजिक नेतृत्वबीचको विवाद नै मुख्य कारण थियो । जे भए पनि, म विगततर्फ फर्कन चाहन्नँ । बरु साविकका फलाटे र भुम्लुटार गा.वि.सका सम्पूर्ण नागरिकलाई विशेष धन्यवाद दिन चाहन्छु—यति लामो समयसम्म राज्यप्रति गुनासो गर्दै पनि विद्रोह नगरी, गाली नगरी, धैर्यपूर्वक बसिदिनुभएकोमा ।
सुनकोशीमा धेरै पानी बगिसकेको छ । तर यो समस्या भने स्थिर पोखरीझैँ जमिरह्यो । वेला–वेला ढुंगा हानिँदा तरंग उठ्थ्यो, तर त्यो तरंग किनारामा पुग्नुअघि फेरि थामिन्थ्यो ।
यही क्रममा हामी निर्वाचनमा होमियौँ र प्रतिवद्धता जनायौँ । निर्वाचित भएको दुई दिनमै सम्बन्धित मन्त्रालय धाउन थाल्यौँ । तत्कालीन भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री माननीय शशी श्रेष्ठज्यूले हामीलाई ऊर्जा दिनुभयो । त्यतिबेलै नापी विभागका महानिर्देशक प्रकाश जोशीज्यूको व्यवहारले मलाई पूर्ण विश्वास दिलायो ।
मैले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यूलाई भेटी वडा नं. ७ र ८ को पुर्जासम्बन्धी समस्या विगतदेखि वर्तमानसम्मका सबै विवरण प्रष्ट पार्दा उहाँ चकित हुनु भयो र गम्भीरतापूर्वक सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुभयो ।
त्यसपछि दर्जनौँ पटक मन्त्रालयका बैठकहरूमा हामी अध्यक्ष–उपाध्यक्षले आ–आफ्नो आर्थिकी दायित्व पालिकाले नै बहन गर्ने प्रतिवद्धतासहित पहल गर्यौँ । जिल्ला नापी कार्यालय र मालपोत कार्यालयमा बसेका छलफलहरू, मालपोत कार्यलयमा १ करोड ५ लाख धुलोले ढाकिएका श्रेस्ता पल्टाउँदै फलाटे र भुम्लुटारका अभिलेख खोज्ने कार्यमा अहोरात्र खटिएका कर्मचारीहरू सबैलाई यस अवसरमा स्मरण र सम्मान गर्न चाहन्छु ।
तेही क्रममा माननीय गोकुल बास्कोटा ज्यूले संसदमा आवाज उठाउनुभयो र पुनः तत्कालीन प्रधानमन्त्री प्रचण्डज्यूले पनि रोष्टमबाटै प्रतिवद्धता जनाउनुभयो ।
२०७६ सालमा मन्त्रालयका अनिल पुडासैनीज्यूको प्रतिवेदन, त्यतिबेलाका जनप्रतिनिधि र समाजसेवीहरूको योगदानप्रति पनि म उच्च सम्मान प्रकट गर्दछु ।
मन्त्रालयमा माननीय बलराम अधिकारीज्यूसँग परिचय गराई बहसमा संलग्न गरिदिनुभएका संघीय सांसद माननीय मिना तामाङज्यू, संघर्षको मैदानमा साथ दिने बागमती प्रदेशका माननीय रुकु चौलागाईंज्यू, माननीय लक्ष्मण लम्सालज्यू, तत्कालीन पालिका अध्यक्ष–उपाध्यक्ष, अन्य जनप्रतिनिधि र बुद्धिजीवीहरूलाई पनि म धन्यवाद दिन चाहन्छु ।
यो समस्याको समाधान गर्न हामीले अर्जुन दृष्टिले लक्ष्यमा ध्यान केन्द्रित गर्यौँ । कठिनाइका अनेक मोडमा पनि हामी अविचलित भएर अघि बढ्यौँ । यस क्रममा बलराम अधिकारीजस्तो दृढ इच्छाशक्ति भएका मन्त्री, महानिर्देशक प्रकाश जोशीजस्तो सक्षम नेतृत्व, नापी कार्यालयका प्रमुख, वडा ७ र ८ मा खटिएका टोली प्रमुख मदनजी र जयरामजीसहित कर्मचारीहरूको अहोरात्रको परिश्रमले ठूलो टेवा पुर्यायो । वडा अध्यक्षहरूको सक्रियता, कार्यपालिका सदस्यहरूको समर्थन र आवश्यक बजेट स्वीकृतिले हामीलाई थप उत्साह दिएको थियो ।
यद्यपि, बीच–बीचमा हामीलाई विचलित बनाउन वा असफल गराउन कतिपय प्रयत्न भएका थिए र अझै पनि भइरहेका छन् । यसबारे जनसमुदायले खबरदारी गर्नुपर्नेछ भन्ने अपिल पनि यसै मंचबाट गर्न चाहन्छु । हामी भने अविचलित भएर यसलाई तार्किक निष्कर्षमा पुर्याउने संकल्प गर्दछौँ ।
साथै, माननीय मन्त्रीज्यू र विभाग प्रमुखज्यूलाई यसै मंचबाट गम्भीरतापूर्वक अनुरोध गर्न चाहन्छु—वडा नं. ७ र ८ का सम्पूर्ण नागरिकले अब छोटो समयमै पुर्जा पाउनै पर्छ । त्यसका लागि तपाईंहरूको निरन्तर सक्रियता, सहयोग र गम्भीरतापूर्वक लागिपर्ने अपेक्षा गर्दछु । जिल्ला नापी कार्यालय, मालपोत कार्यालय र मातहतका कर्मचारीहरूको पूर्ण साथ र सहयोगका लागि पनि आह्वान गर्दछु ।
धन्यवाद ।
(भुम्लु गाउँपालिका अध्यक्ष प्रेेम बहादुर भूजेल )


