समाचार

विजय स्मारक माध्यमिक विद्यालयका प्रधानाध्यापक माथि अपराधिक समुहको दुर्व्यवहार

काठमाडौं, भाद्र ३०

विजय स्मारक माध्यमिक विद्यालय डिल्लीबजार काठमाडौंका प्रधानाध्यापक डिल्ली प्रसाद शर्मा ढकाललाई कालोमोसो दलिएको छ। हिजो मोहन बैद्य समूहका अखिल (क्रान्तिकारी ) बताउने आपराधिक समूहले कालोमोसो दलेर दुर्व्यवहार गरेका हुन्।

विद्यालय हाताभित्र प्रधानाध्यापकको कार्यकक्षमा काम गरिरहेको बेला अचानक अखिल क्रान्तिकारीका आपराधिक समूहले दुर्व्यवहार गर्दै कालोमोसो दलेको विद्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा बताइएको छ।

सो समूहले नागरिकता विधेयक ,एम सि सि लगायत अन्य बिषयमा विद्यार्थीहरुलाई प्रशिक्षण दिन पाउनुपर्ने र आन्दोलनका लागि शिक्षकहरुले आर्थिक सहयोग गर्नु पर्ने भन्दै प्रधानाध्यापक शर्मालाई जबर्जस्ती पत्र थमाएका थिए।

प्रधानाध्यापक शर्माले अहिले कक्षा सञ्चालन भइरहेको र आधा घण्टापछि समय उपलब्ध गराउन सकिने जानकारी गराए पश्चात सुनियोजित तरिकाले अपशब्द बोल्दै कालोमोसो दलेर विद्यालय प्राङ्गण बाहिर जतिबेला पनि भौतिक कारबाही हुन सक्ने चेतावनी दिँदै, विद्यालयको वातावरण आतङ्कित बनाएर सो समूह विद्यालयबाट बाहिरिएको थियो।

शिक्षण संस्थाभित्र पढाइरहेको अवस्थामा शिक्षक माथि भएको निकृष्ट ,निन्दनीय कार्यको घोर भर्त्सना गर्दै आपराधिक समूहमाथि छिट्टै कानुनबमोजिम कारवाही प्रक्रिया अगाडि बढाउन विद्यालय प्रशासनले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *