स्वास्थ्य

पहिलो पटक स्पेनमा कोरोना संक्रमितको मृत्यु रोकियो

२० जेठ। युरोपेली मुलुक स्पेनमा मार्च महिनायता पहिलो पटक कोरोना भाइरसको संक्रमणका कारण २४ घण्टामा कुनै पनि व्यक्तिको मृत्यु नभएको अधिकारीहरुले बताएका छन् ।

आपतकालीन स्वास्थ्य सेवाका प्रमुख फर्नान्डो सिमोनले पछिल्लो स्वास्थ्य विवरण निकै बढी उत्साहप्रद रहेको बताउनुभयो ।

पत्रकार सम्मेलनका क्रममा उहाँले २४ घण्टाका अवधिमा ७१ जना नयाँ संक्रमित व्यक्ति भेटिएको जानकारी दिनुभयो । “संक्रमण नियन्त्रण र रोकथामका क्षेत्रमा निकै सुधार भएको देखिएको छ । सरकारका प्रयासहरु सही दिशातर्फ उन्मूख भएको यसले प्रष्ट बनाएको छ ।”

स्पेनमा मार्च ३ मा पहिलो पटक दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । त्यसको दुई दिनपछि अर्को व्यक्तिको ज्यान गएको थियो । त्यसयता स्पेनमा मृत्यु हुनेको संख्या नाटकीय रुपमा बढेको थियो । अप्रिल २ मा एकै दिन ९५० जनाको मृत्यु भएको थियो ।

देशभर कूल संक्रमित २ लाख ४० हजार व्यक्तिमध्ये २७ हजार १२७ जनाको मृत्यु भएको औपचारिक स्वास्थ्य विवरणमा देखिएको छ ।

शुरुआती दिनहरुमा युरोपेली मुलुक इटालीपछि स्पेन सर्वाधिक प्रभावित थियो । तर भाइरसका कारण फ्रान्स र बेलायतलाई पनि आक्रान्त बनाएको थियो ।

स्पेनमा मध्य मार्चमा सरकारले लकडाउनलाई अति कडा बनाएको थियो । तर अहिले परिस्थितिमा निकै सुधार आएसँगै लकडाउनमा खुकुलो बनाउन थालिएको छ ।

तर स्पेनी सरकारले भाइरस प्रसारको खतरा अझै रहेको बताउँदै लकडाउन कुनै पनि बेला लगाउन सकिने बताएको छ ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आपतकाल घोषणा गर्न सक्ने अवशिष्ट अधिकार अरु दुई हप्ता बढाउन संसदमा प्रस्ताव लैजाने बताउनुभएको छ । यो अधिकार प्राप्त गरेमा सरकारले मानिसलाई घरभित्र बस्नेगरी आदेश दिन पाउनेछ । एपी File photo

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *