समाचार

आजबाट मौसम क्रमिक सुधार हुँदै जाने

पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम आज बेलुकाबाट क्रमिक सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार पश्चिमी भू–भाग हुँदै प्रवेश गरेको उक्त प्रणाली आज उत्तरपूर्वी भूभाग हुँदै बाहिरिने मौसमविद् प्रतिभा मानन्धरले बताइन्। ‘आज मध्याह्नसम्म देशैभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुनेछ’, मौसमविद् मानन्धरले भनिन् । बेलुकापखबाट मौसम क्रमिक सुधार भई जाने जनाएको छ ।

राति देशको मध्यपूर्वी भू–भागलगायत पश्चिमी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी तराईका भू–भागमा मौसम सामान्यतया सफा रहने साथै मध्य तथा पूर्वी उच्चपहाडी तथा हिमाली भू–भागमा केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार देशको पूर्वी भू–भागलगायत मध्य तथा पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ । सोमबार देशको पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव शून्य डिग्री र अधिकतम तापक्रम नौ दशमलव नौ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइनस शून्य दशमलव पाँच डिग्री सेल्सियसमा झरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *