समाचार

खार्पाका किसानले यस वर्ष लिची बिक्रीबाट मात्रै दुई करोडभन्दा बढि आम्दानी गरे

रावाबेंसी गाउँपालिकाको दुईवटा वडाका किसानले लिची बिक्रीबाट यस वर्ष मात्रै रु दुई करोडभन्दा बढी रकम आम्दानी गरेका छन् । वडा नम्बर–१ कुभिन्डे र वडा नम्बर–२ खार्पाका किसानले यस वर्ष लिची बिक्रीबाट रु दुई करोड दशभन्दा बढी रकम आम्दानी गरेका हुन् ।

कुभिन्डे र खार्पाका किसानले उत्पादन गरेको लिची यस वर्ष जिल्ला बाहिरसमेत निर्यात भएको गाउँपालिकाले जनाएको छ । कुभिन्डे र खार्पामा यस वर्ष एक हजार ४८७ मेट्रिक टनभन्दा बढी लिची उत्पादन भएको जनाइएको छ ।

लिचीलाई प्रतिदानाका हिसाबले बिक्री गरिने भएकाले ४० देखि ४५ दानालाई एक केजी मान्दा प्रतिकेजी रु ३५ पर्ने किसानले बताएका छन् । कुभिन्डे र खार्पाको १७५ हेक्टर क्षेत्रफल जग्गामा लिची खेती गरिएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लाको करीब ४०० हेक्टर क्षेत्रफल जमीनमा लिची खेती गरिएको कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले बताउनुभयो । जिल्लामा हाल रावाबेंसी गाउँपालिकाको कुभिन्डे र खार्पामा मात्र लिची उत्पादन हुने भएकाले सो स्थानका किसानले लिचीबाट राम्रो आम्दानी गर्दै आएका छन् ।

कुभिन्डे र खार्पामा उत्पादित लिची दिक्तेल, बाक्सिला, ऐसेलुखर्क लगायतका बजारमा खपत हुने गरेको छ । रावाबेंसी गाउँपालिकामा उत्पादित लिची उदयपुरको गाईघाट, कटारी, सप्तरी, ओखलढुङ्गा र सोलुखुम्बूसम्म पुग्ने गरेको छ ।

रावाबेंसी गाउँपालिकाका स्थानीयवासीले कोसेलीका रुपमा काठमाडौँ, धरान, बिराटनगर लगायतका ठाउँमा समेत कुभिन्डे र खार्पामा उत्पादित लिची पु¥याउने गरेका छन् । कुभिन्डे र खार्पामा उत्पादित लिची गाउँकै स्थानीयले ठेगेर बजार पु¥याउने गरेका छन् ।

बोटमा कम्तिमा रु १२० मा १०० वटाका दरले ठेग्न पाइने लिची बजारमा पु¥याएपछि प्रतिगोटा कम्तिमा रु दुईमा बिक्री हुन्छ । एक जनाले एक पटकमा हजार दानाभन्दा बढी लिची बजार पु¥याउन सकिने कृषकले बताएका छन् ।

कुभिन्डेका अधिकांश लिची कृषक आफूले उत्पादन गरेको लिची आफैँले डोकोमा बोकेर बजार पु¥याउने गरेका छन् । आफैँले बोकेर बिक्री गर्दा ज्यालासमेत बच्ने भएकाले आफूले उत्पादन गरेको लिची आफैँ बोकेर बिक्री गर्ने गरिएको कुभिन्डेकी किसान रीता मगरले बताउनुभयो ।

जिल्ला बाहिरबाट लिची आयत नहुने भएकाले स्थानीय लिची व्यवसायीले वर्षमा एक पटक राम्रो आम्दानी लिने गरेका छन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार जेठ पहिलो सातादेखि नै कुभिन्डेमा उत्पादित लिची आउने गरेको छ ।

लिचीको उत्पादनलाई मध्यनजर गर्दै कुभिन्डेलाई लिचीको पकेट क्षेत्रका रुपमा विकास गर्ने योजना बनाइएको गाउँपालिका प्रमुख लिलानाथ निरौलाले बताउनुभयो । “कुभिन्डेमा लिचीका लागि राम्रो ठाउँ छ”, उहाँले भन्नुभयो, “गाउँपालिकाले कुभिन्डेलाई पकेट क्षेत्रका रुपमा विकास गर्ने कार्यक्रम अघि सारिएको छ ।”

पछिल्लो समय लिचीबाट राम्रो आम्दानी हुन थालेपछि जिल्लाको विजयखर्क, याम्खा, राजापानी, दोर्पाचिउरीडाँडा, नेर्पा, खाल्ले, डुम्रेधारापानी, लामीडाँडा, हलेसी लगायतका ठाउँमा पनि लिची खेती गरिएको छ । जिल्लाको सल्ले, अर्खौले, खाल्ले, डम्वर्खुशिवालय, मात्तिम, रतन्छा, बुइपा, इन्द्रेणीपोखरी, बतासे, दुवेकोल, छोरम्बु, डुम्रेधारापानी, च्यास्मिटार, डिकुवा लगायतका किसानले समेत लिची खेती गर्न थालेका छन् । (रासस)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *