स्वास्थ्य

कलेजो बिग्रेको कसरी थाहा पाउने ? यसरी जोगाउनुहोस्

काठमाडौं । कलेजो हाम्रो शरीरको सबैभन्दा ठूलो अंग हो। कलेजोले हाम्रो शरीरमा आवश्यक पर्ने प्रोटिन र आल्मुनियम जस्ता थुप्रै तत्वहरु बनाउँछ । यसको मुख्य काम भनेको शरीरको आन्तरिक व्यवस्थापन गर्नु हो। हामीले खाएको खाना कलेजोमा जान्छ र सुगर तथा पोषिलो तत्व बढेको हुन्छ। नखाएका बेलाका लागि पनि यसले ‘व्यालेन्स’ गरिराखेर व्यवस्थापन गर्छ।

केही हानिकारक कुरा खाइएमा त्यसलाई फाल्ने काम पनि कलेजोले गर्छ। हाम्रो रगतमा हेमोग्लोविन हुन्छ जसले अक्सिजन लिन्छ। यसलाई रातो बनाउने काम रक्तकोषिकाले गर्छन् जो १ सय २० दिनमा मर्छन्। रक्तकोषिकाहरु मरेपछि हेमोग्लोविन पहेंलो पदार्थमा परिणत हुन्छ। यसलाई ‘कन्जुकेट’ गरेर फाल्ने काम कलेजोले गर्छ।

कलेजो बिग्रेको कसरी थाहा पाउने?
समान्यतया कलेजोमा समस्या आएको थाहा हुँदैन। कलेजो बिगार्ने कीटाणु बिस्तारै सक्रिय हुन्छन्। तर कलेजो खराब भइसकेपछि थकान हुने र खुट्टाको मासु सुन्निने जस्ता लक्षण भने देखिन्छन्।

कलेजोले कामै नगर्ने भएपछि भने जन्डीस बढ्ने, रगत वान्ता हुने, पेट सुन्निने र त्यहाँ पानीको मात्रा बढ्ने जस्ता समस्या आउँछन् जुन दीर्घकालिन हेपाटाइटिसका लक्षण हुन्। अल्पकालिन हेपाटाइटिसमा भने केही दिन खाना अरुचि हुने र पेटको माथिल्लो भागमा दुख्ने हुन्छ। यो दुई–तीन हप्तामा विस्तारै सुधार हुँदै जान्छ। यसमा लक्षण चाँडो देखिन्छ र निको पनि चाँडो नै हुन्छ।

कलेजो कसरी जोगाउने?
कलेजोको समस्या हुन नदिन अत्यधिक रक्सी खानु हुँदैन। कहिलेकाँही खाने गरेपनि लतका हिसाबमा दैनिक र धेरै भने खानु हुँदैन। बेलाबखत हेपाटाइटिस ‘बि’ जाँच्नुपर्छ। सामान्य मानिसमा पनि यो हुनसक्छ। यो सर्ने सम्भावना १५ वर्ष मुनिकालाई बढी हुन्छ भने गर्भवती वा दूध खुवाउने आमाबाट बच्चालाई पनि सर्छ।

नेपाल सरकारले हेपाटाइटिस ‘बि’ को भ्याक्सिन दिने गरेको छ। त्यसैले अबका पुस्ताका बच्चालाई यसको सम्भावना निकै कम छ। यो खोप नलगाउनेले भने एकपटक परीक्षण गर्नु राम्रो हुन्छ। हेपाटाइटिस ‘सी’को कुरा गर्दा यो सबैभन्दा धेरै लागुऔषध प्रयोगकर्ताबाट सर्छ। जथाभावी सुई लगाउने वा ट्याटु खोप्ने गर्दा सर्न सक्छ। शरीरमा अरुको रगत चढाउँदा पनि परीक्षण गरेर मात्र गर्नुपर्छ।

कलेजोमा बोसो जम्ने समस्या छ भने मोटोपन नियन्त्रण गर्नुपर्छ। त्यस्तै डाक्टरको सल्लाह बिना औषधि कहिल्यै खानु हुँदैन र पानी सकेसम्म उमालेर वा राम्ररी शुद्धीकरण गरेर मात्र खानाले पनि यसबाट बच्न सकिन्छ।

उपचार
कलेजो बिग्रेको कारण अनुसार यसको उपचार गर्नुपर्छ। रक्सी वा कुनै औषधिका कारण कलेजो खराब भएको भए पहिले ती कुरा खान बन्द गर्नुपर्छ। राम्रो खाना र आराम भयो भने बिस्तारै समस्या कम हुँदै जान्छ।

हेपटाइटिस ‘ए’ र ‘इ’ तीन महिनाभित्र सामान्य हुँदै जाने भए पनि यो समयमा राम्रो आहार लिनुपर्छ। सुरुमा केही औषधि खान परे पनि पछि पर्दैन।
दीर्घकालीन हेपाटाइटिसमा पनि कारण पत्ता लगाई उपचार गरिनुपर्छ। कारण रक्सी भए बन्द गरेर वा कलेजोमा बोसो जमेको भए तौल घटाएर उपचार गर्नुपर्छ। बोसो जमेको भए चिल्लो कम खाने, व्यायाम गर्ने र आवश्यक परेमा औषधि पनि खानुपर्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *