समाचार

गर्मी र वर्षामा फैलिने हैजाबाट कसरी जोगिने ?

काठमाडौं । नेपालमा वर्षेनी हैजाका विरामी फेला पर्ने गरेका छन् । यस वर्ष पनि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले गएको साता काठमाडौंमा एक व्यक्तिलाई हैजाको सङ्क्रमण भएको पुष्टि गरेको थियो । हैजा पानीजन्य सरुवा रोग हो र यो दूषित पानी वा खाद्य पदार्थ सेवन गर्दा सर्छ। हैजा गम्भीर खालको झाडापखाला हो। समयमा उपचार गरिएन भने पीडित व्यक्तिको मृत्यु केही घण्टामै हुन सक्छ । भिब्रिओ कोलरी नाम गरेको ब्याक्टरियाका कारण यो रोग लाग्छ ।

हैजा भएका ८० प्रतिशत बिरामीको जीवनजल प्रयोग गरेर सफलतापूर्वक उपचार हुन्छ । गम्भीर खालको हैजा लाग्दा तत्काल एन्टिबायोटिक र नसाबाट सलाइन दिएर उपचार गर्नुपर्छ । अन्य झाडापखालाझैँ हैजा हुँदा पनि पातलको दिसा र बान्ता हुन्छ। तर हैजा लागेको व्यक्तिले तारन्तार पातलो चौलानी पानीजस्तो दिसा गर्ने र वमन गर्ने चिकित्सकहरूको भनाइ छ।

कसरी हुन्छ सङ्क्रमण?
हैजाको जीवाणुले सानो आन्द्रामा आक्रमण गर्छ। गर्मी र वर्षाको समयमा पानीको स्रोतमा हैजाको जीवाणु मिसिन पुग्यो भने दूषित पानी पिउने मानिसमा यो रोगको सङ्क्रमण हुन सक्छ। दूषित पानी प्रयोग भएको खाद्य पदार्थबाट पनि यो सर्न सक्छ। त्यसैले पानी उमालेर तथा खाद्य पदार्थ राम्ररी पकाएर खान चिकित्सकहरू सल्लाह दिन्छन्।

कसरी गर्न सकिन्छ रोकथाम?
हैजा र अन्य पानीजन्य सरुवा रोग रोकथाम गर्न खानेपानीको स्रोत सफा राख्न आवश्यक छ। खानेपानीका साथै ढल व्यवस्थापन गर्न पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ।सबै व्यक्तिले एउटै स्रोतको पानी प्रयोग गर्ने तथा ढल र शौचालयको व्यवस्थित उपाय नभएको ठाउँमा हैजाले महामारीको रूप लिन सक्ने सम्भावना बढी हुने बताइन्छ।

यसका साथै व्यक्तिगत सरसफाइमा पनि ध्यान दिनु आवश्यक भएको स्वास्थ्यकर्मीहरू बताउँछन्। खाना खानुअघि, खाएपछि, फोहर चलाएपछि र शौचालय गएपछि साबुनपानीले हात धुने बानी बसाल्दा यो रोगको नियन्त्रण गर्न सकिन्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *