भोटेकोसी बाढी प्रभावित बालबालिकाको संरक्षणका लागि अस्थायी केन्द्र सञ्चालन

अ+
अ
अ-

ललितपुर । भोटेकोसी बाढीबाट प्रभावित बालबालिकाको संरक्षण, हेरचाह तथा दीर्घकालीन पुनःस्थापनाका लागि विशेष योजना कार्यान्वयनमा ल्याइएको छ।

बाढीबाट प्रभावित बालबालिकालाई शिक्षा, स्वास्थ्य, पोषण, मनोसामाजिक सहयोग, पारिवारिक सबलीकरण तथा दीर्घकालीन स्याहारसुसारलगायतका सेवा उपलब्ध गराउने उद्देश्यले ‘विपद् प्रभावित बालबालिकाको हेरचाह तथा स्याहार योजना, २०३३’ कार्यान्वयनमा ल्याइएको हो।

योजनाअन्तर्गत बालबालिकाको अवस्था पहिचान, लेखाजोखा तथा आवश्यक संरक्षण सेवा प्रदान गर्न ललितपुर जिल्लाको गोदावरी नगरपालिका–१२, ठेचोमा अस्थायी संरक्षण केन्द्र सञ्चालन गरिएको छ।

उक्त केन्द्रमार्फत भोटेकोसी बाढीबाट प्रभावित बालबालिकालाई संरक्षण तथा आवश्यक सहयोग उपलब्ध गराउन राष्ट्रिय बाल अधिकार परिषद्ले इच्छुक सेवा प्रदायक संस्था तथा निकायसँग सहकार्य गर्ने भएको छ।

परिषद्ले बाल संरक्षण सेवा, आर्थिक तथा वस्तुगत सहयोग, पारिवारिक सहयोग र अन्य आवश्यक सेवा उपलब्ध गराउन इच्छुक संस्थाहरूलाई आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन पेस गर्न आह्वान गरेको छ।

सहयोग गर्न इच्छुक संस्थाहरूले बालबालिकाको संरक्षण तथा स्याहारसुसार, पारिवारिक सबलीकरण, दैनिक जीवनयापनका लागि आवश्यक सामग्री, खाद्यान्न तथा पोषण, विद्यालय भर्ना, शैक्षिक निरन्तरता र शैक्षिक सामग्री उपलब्ध गराउन सक्नेछन्।

त्यसैगरी प्रभावित बालबालिकाको समग्र विकास र पुनःस्थापनाका लागि आवश्यक अन्य सहयोग तथा सेवा पनि उपलब्ध गराउन सकिने परिषद्ले जनाएको छ।

यस्ता सेवा तथा सहयोग प्रदान गर्न इच्छुक संघसंस्था र निकायलाई राष्ट्रिय बाल अधिकार परिषद्को कार्यालयमा आवेदन पेस गरी सहकार्यमा सहभागी हुन आह्वान गरिएको छ।