काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएकी छन्।
महिला उपसभापति पदका लागि भुसालको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएकी हुन्। उम्मेदवारी दर्ता प्रक्रिया सकिएपछि निर्वाचन समितिले प्रकाशित गरेको नामावलीमा उनको एकल उम्मेदवारी कायम भएपछि निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो।
भुसाल यसअघि कांग्रेसको विशेष महाधिवेशनबाट पनि उपसभापतिमा निर्वाचित भएकी थिइन्। पूर्वउपसभामुखसमेत रहेकी भुसालले कानुन व्यवसाय, प्राध्यापन र राजनीतिमा लामो समय सक्रिय रहेर संसदीय तथा पार्टी राजनीतिमा भूमिका निर्वाह गरेकी छन्।
१५औँ महाधिवेशनबाट भुसाल कांग्रेसको महिला उपसभापति पदमा निरन्तरता पाउने भएकी छन्। कांग्रेसमा यसअघि शैलजा आचार्य उपसभापति बनेकी थिइन्। त्यसपछि भुसाल दोस्रो महिला उपसभापति बनेकी हुन्।


