स्वास्थ्य परीक्षणका क्रममा संवेदनशील अंग छोएको आरोपमा बाँकेमा स्वास्थ्यकर्मी पक्राउ

अ+
अ
अ-

नेपालगन्ज । बाँकेको कोहलपुरमा स्वास्थ्य परीक्षणका क्रममा बिरामी महिलाको संवेदनशील अंग छोएको आरोपमा एक स्वास्थ्यकर्मी पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोहलपुर नगरपालिका–११ रेडक्रस रोडस्थित थापा पोलिक्लिनिकमा उपचारका लागि गएकी बिरामीको गोप्य अंग छोएको/चलाएको भन्दै सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि पीडितबाट प्रहरीमा उजुरी परेको थियो।

उजुरीका आधारमा प्रहरीले थापा पोलिक्लिनिकका सञ्चालकसमेत रहेका कोहलपुर–११ निवासी ६३ वर्षीय गणेशबहादुर थापालाई पक्राउ गरेको हो। उनी CMA प्रमाणपत्र प्राप्त स्वास्थ्यकर्मी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार थापालाई बाँके जिल्ला अदालतबाट करणीसम्बन्धी कसुरमा सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेले स्वास्थ्यकर्मीले महिलाको संवेदनशील अंग परीक्षण गर्दा संरक्षक (Chaperone) को उपस्थितिमा परीक्षण गर्नुपर्ने नेपाल हेल्थ प्रोफेसनल काउन्सिलको आचारसंहितामा व्यवस्था रहेको जनाएको छ।