काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले राष्ट्रियता र लोकतन्त्रलाई सार्थक बनाउन राजनीतिक दलहरूले जनताको जीवनमा परिवर्तन ल्याउने गरी काम गर्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै घिमिरेले राष्ट्रियताको सार्थकता जनताको समुन्नत जीवन, राष्ट्रको सुरक्षा, प्रतिष्ठा र छिमेकी तथा मित्रराष्ट्रसँगको सुमधुर सम्बन्धमा निहित रहेको बताए।
उनले लोकतन्त्रको सार्थकता जनताको सहभागिता, सम्मान र समुन्नतिमा रहेको उल्लेख गर्दै अन्तिम पंक्तिमा उभिएको नागरिकको जीवन परिवर्तन गर्न सक्नु नै लोकतन्त्रको वास्तविक सार भएको बताए।
घिमिरेले लामो समयदेखि लोकतन्त्रको अभ्यास र राष्ट्रिय राजनीतिको नेतृत्व गर्दै आए पनि जनतामा रहेको निराशा र प्रश्नको समुचित जवाफ दिन नसकिएको स्वीकार गरे। उनले नयाँ पुस्तामा आशा जगाउन, युवालाई भविष्यप्रति आशावादी बनाउन तथा ज्येष्ठ नागरिकको जीवनलाई सम्मानित बनाउन राजनीतिक नेतृत्व सफल हुन नसकेको बताए।
उनले कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीलाई पुनर्जीवन दिने र नेतृत्वमा पुस्तान्तरणसहित नयाँ राजनीतिक दिशातर्फ अघि बढाउने प्रयास भइरहेको बताए।
उनले २०६२/६३ को जनआन्दोलन तथा पछिल्लो समयका घटनामा सहादत प्राप्त नेपाली नागरिकलाई स्मरण गर्दै राजनीतिको केन्द्रमा राष्ट्र र जनता हुनुपर्ने बताए। ‘हाम्रो राजनीतिको केन्द्रमा राष्ट्र छ, हाम्रो राजनीतिको केन्द्रमा जनता छन्,’ घिमिरेले भने, ‘जनताको सुख, राष्ट्रको सुरक्षा र राष्ट्रको प्रतिष्ठालाई केन्द्रमा राखेर अघि बढ्न सके मात्रै राजनीति सार्थक हुन्छ।’
घिमिरेले नेपाली कांग्रेससहित सबै राजनीतिक दलले अहिलेसम्म चल्दै आएको ‘औसत राजनीतिको युग’ अन्त्य गरी नेपाली समाजलाई नयाँ राजनीतिक चरणमा प्रवेश गराउनुपर्नेमा जोड दिए।


