मोतीराम भट्टको १६१औँ जन्मजयन्तीमा ‘मोती–लय’, तयारी

अ+
अ
अ-

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले मोतीराम भट्टको १६१औँ जन्मजयन्तीका अवसरमा आयोजना गर्न लागेको ‘मोती–लय’ कार्यक्रमको तयारी पूरा भएको जनाएको छ।

प्रतिष्ठानका अनुसार कार्यक्रम असोज शुक्रबार दिउँसो २ बजे कमलादीस्थित प्रतिष्ठानको मुख्य प्रेक्षालयमा आयोजना हुनेछ।

कार्यक्रममा गजल गायनसँगै मोतीराम भट्टका रचना, जीवनी र योगदानमा आधारित विभिन्न प्रस्तुति रहनेछन्। ११ जना चित्रकारले मोतीरामसँग सम्बन्धित चित्र प्रत्यक्ष तयार पार्नेछन् भने शिल्पी थिएटरका ८ जना कलाकारले अभिनय प्रस्तुत गर्नेछन्। कार्यक्रममा वाचित गजलका आधारमा ‘लाइभ पेन्टिङ’ समेत गरिनेछ।

यस्तै, सातै प्रदेशका २१ जिल्लाबाट आएका २१ जना नयाँ पुस्ताका गजलकारले गजल वाचन गर्नेछन्। अग्रज पुस्ताका ११ जना गजलकारले पनि आफ्ना गजल प्रस्तुत गर्ने प्रतिष्ठानले जनाएको छ।

नेपाल प्रज्ञा–प्रतिष्ठानले मोतीराम भट्टको जन्मजयन्ती अर्थात् कुशे औँशीलाई ‘राष्ट्रिय गजल दिवस’का रूपमा मनाउने निर्णय गरेको छ। यसअघि भदौ २६ गतेका लागि तय गरिएको ‘मोती–लय’ कार्यक्रम भोटेकोशीमा आएको बाढीका कारण असोज १६ गतेका लागि सारिएको हो।