जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी

अ+
अ
अ-

म्याग्दी पर्वतको जलजला गाउँपालिका–४ लामाखेतमा घर बनाएर बसेकी म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका बालकुमारी रावल पछिल्लो तीन दिनयता ढुक्कसँग निदाउन पाउनुभएको छैन ।

यही असोज ८ देखि १२ गतेसम्मको निरन्तरको झरीपछि कालीगण्डकी नदीमा आएको बाढीले जीवनभर दुःख गरेर जोडेको घर छाड्ने कि जोखिम मोलेर त्यही बस्ने भन्ने निर्णय लिन उहाँलाई गाह्रो परेको छ ।

“करिब छ मिटर माथिसम्म कालीगण्डकीको बाढी आउने कल्पना गरेको थिइनँ तर असोज १० गते रातिको बाढीले घर डुबाएर सामान बगायो, भएका लत्ताकपडा, भाँडाकुँडा र सामान हिलाम्मे बनायो,” उहाँले भन्नुभयो ।

रेष्टुरेन्ट र किराना पसल सञ्चालन गरेर जीविकोपार्जन गर्दै आएकी रावलले भन्नुभयो, “यो ठाउँमा बसौँ भने बाढीले डुबाएको झलझली आँखामा आउँछ, छोडेर जाने अरू ठाउँ छैन ।”

बाढी पसेपछि रावलसहित लामाखेतका अधिकांश बासिन्दा घरमा सुत्न छाडेका छन् । साँझ खाना खाएर बेनी बजारमा आउने उनीहरु बिहान घर फर्कन्छन् । बाढीले भिजाएका हिलाम्मे सामानको सरसफाइ उनीहरुको दिनचर्या बनेको छ ।

बेनीको प्रकाश माविमा कक्षा ६ मा पढ्ने लामाखेतका आयुस पुनले बाढी पसेपछि पोसाक लगाउन नमिल्ने भएको र हिलो पन्छाउन बुबाआमालाई सघाउनुपर्दा विद्यालय जान नपाएको गुनासो गर्नुभयो ।

लामाखेतमा बस्दै आएका धवलागिरि गाउँपालिका–५ भेडिखाल्टाकी रुपी बुढा घरमा बस्नेकी छोड्ने भन्ने दोधारमा हुनुहुन्छ । “जलजला गाउँपालिकाको केन्द्र र कार्यालय रहेको लामाखेतलाई संरक्षण गरेर बस्नयोग्य बनाउन सके मात्र हामी ढुक्क हुने थियौँ,” उहाँले भन्नुभयो, “बाढी र कटानबाट ज्यान बचाउन घर छाड्नुपर्ने अवस्था छ । जीवनभरको कमाइ लगानी गरेर बनाएको घर छाडेर फेरि गाउँ फर्कन अप्ठ्यारै हुन्छ ।”

पछिल्लो १५ वर्षयता तीव्र रुपमा बस्ती विस्तार भएको लामाखेत पर्वत जिल्लाको भूगोलमा पर्ने भए पनि अधिकांश म्याग्दीका विभिन्न ग्रामीण क्षेत्रबाट बसाइँसराइ गरेर आएका छन् । लामाखेतमा धेरैजसो विदेशमा कमाएको र गाउँको जग्गा जमिन बेचेर छोराछोरी पढाउन, बेनीमा रोजगारी र मजदुरी गर्नेले घर बनाएर बसेका छन् ।