काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको पर्यटन विकासलाई प्रभावकारी बनाउन अन्तरमन्त्रालय समन्वय आवश्यक रहेको बताउनुभएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले ४७औँ विश्व पर्यटन दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले पर्यटन विकासलाई प्रभावकारी बनाउन अन्तरमन्त्रालय समन्वय, सरकारी संस्थाको क्षमता अभिवृद्धि र निजी क्षेत्रसँगको निरन्तर सहकार्य आवश्यक रहेको बताउनुभएको हो ।
पर्यटनमन्त्री पौडेलले पर्यटन विकासलाई एउटै मन्त्रालयको प्रयासबाट मात्र अघि बढाउन नसकिने भएकाले सरकारका विभिन्न निकायबीच प्रभावकारी समन्वयमा आफूले निरन्तर जोड दिँदै आएको उल्लेख गर्नुभयो । उहाँले पर्यटन क्षेत्रसँग सम्बन्धित सरकारी संस्थाहरूको क्षमता अभिवृद्धि गर्ने सरकारको योजना रहेको भन्दै बदलिँदो पर्यटन परिवेशअनुसार संस्थागत क्षमता र सेवा प्रवाहलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो ।
मन्त्री पौडेलले नेपालको मौलिक संस्कृति, परम्परा र समुदायमा आधारित जात्रा तथा पर्वहरू पर्यटनका महत्वपूर्ण आधार भएका बताउनुभयो । पुस्तौँदेखि चलिआएका जीवन्त सामुदायिक जात्रा तथा सांस्कृतिक गतिविधिको संरक्षण र प्रवद्र्धनलाई पर्यटन विकाससँग जोड्नुपर्ने उहाँको भनाइ छ ।
उहाँले हिमालयलाई नेपालको मात्र नभई यस क्षेत्रकै पवित्र प्राकृतिक सम्पदाका रूपमा लिँदै हिमालबाट उत्पन्न नदीले यस क्षेत्रका करोडौँ मानिसको जीवनयापनमा योगदान पुर्याइरहेको उल्लेख गर्नुभयो । हिमाली सम्पदाको संरक्षणसँगै त्यसको दिगो पर्यटन उपयोगमा पनि ध्यान दिनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
मन्त्री पौडेलले विद्यमान कानुन तथा नियमावलीमा देखिएका कमी–कमजोरी सुधार गर्न निजी क्षेत्रबाट प्राप्त सुझाव र प्रतिक्रिया सरकारका लागि महत्वपूर्ण हुने बताउनुभयो ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष पन्तले भोटेकोशी बाढीबाट पर्यटन क्षेत्रले पाएको गम्भीर पाठलाई डिजिटल प्रविधिको प्रयोगसँग जोड्नुपर्ने बताउनुभयो ।
उहाँले हालैको भोटेकोशी बाढीका कारण लाङटाङ जाने नियमित पहुँचमार्ग तथा आवास सुविधामा क्षति पुग्दा पर्यटन क्षेत्रमा प्रत्यक्ष प्रभाव परेको भन्दै सुरक्षित पूर्वाधार, समयमै सूचना, वैकल्पिक पहुँचमार्ग र प्रभावकारी विपद् तयारी अब विकल्प नभई अनिवार्य आवश्यकता बनेको बताउनुभयो ।


