कर्णाली । कर्णाली प्रदेशका दश जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले मौसमजन्य जोखिमबाट क्षति हुन नदिने गरी पूर्वतयारी अवस्थामा रहेको बताउनुभएको छ ।
कर्णाली प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको असोज ८ गतेको बैठकको निर्णयको निर्देशनअनुसार मौसमी विपद् जोखिमबाट क्षति हुन नदिन सबै प्रमुख जिल्ला अधिकारीहरूले उपलब्ध जनशक्ति तथा साधनस्रोतसहित पूर्वतयारी अवस्थामा रहेको बताउनुभयो ।
उहाँहरूका अनुसार बाढी, पहिरो, डुबान तथा सडक दुर्घटनाको जोखिमबाट सतर्क रहन हरेक दिन सर्वसाधरणलाई सूचना गर्ने गरिएको छ । डोल्पा तथा हुम्लाका प्रमुख जिल्ला अधिकारीद्वय जुनु हमाल ढकाल र भोलानाथ गुरागार्इँले बाढी तथा पहिरोको जोखिममा रहेका बस्तीलाई उच्च सतर्कता अपनाउन सूचना गरिएको बताउनुभयो । भेरी तथा कर्णाली नदीको बहाव सामान्यतया बढेपनि त्यस्तो जोखिम नरहेको तथापि सम्भावित जोखिमबाट बच्न नदी तटीय क्षेत्रका बासिन्दाहरुलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको उहाँहरूले बताउनुभयो ।
मुगु तथा कालिकोटका प्रमुख जिल्ला अधिकारीद्वय पोषनराज भण्डारी र झविलाल भट्टराईले यहाँका भिरोलो बस्तीहरू बढी जोखिममा रहेकाले बासिन्दाकालाई उच्च सतर्कता अपनाउन सूचना गरिएको बताउनुभयो । मुगु प्रजिअ भण्डारीका अनुसार उच्च भागमा हिमपात र तल्लो भागमा मध्यम वर्षा भइरहेको छ । कालिकोट प्रजिअ भट्टराईले रातभरि बढी हावा चलेको, कर्णाली राजमार्गअन्तर्गत गगने खोलामा पहिरो जाँदा सडक बन्द भएको र अहिलेसम्म कुनै अप्रिय घटना नघटेको जानकारी दिनुभयो ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले सिञ्जाको हिमनदी किनारको जोखिम बस्ती व्यवस्थापनका लागि सम्बन्धित पालिकासँग समन्वय गरिएको बताउँदै लेकमा हिमपात र बेँसीमा सामान्यत वर्षा भइरहे पनि ठूलो असर भने नगरेको बताउनुभयो ।
दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले कर्णाली राजमार्गअन्तरगत दैलेख खण्डका सडकमा पहिरो जाने जोखिम देखिएकोले उक्त क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार चामुण्डा बिन्द्रासैनी नगरपालिका-६ दैलेखको पहिरो प्रभावित परिवारलाई नजिकैको विद्यालयमा आश्रयको व्यवस्थापन गरिएको छ ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी नवराज बरालले हालसम्म अवस्था सामान्य रहेपनि जाजरकोट पहिरोको उच्च जोखिम क्षेत्र भएकाले सम्भावित जोखिमबाट क्षति हुन नदिन सबै संयन्त्र तयारी अवस्थमा राखिएको बताउनुभयो । रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले ठूलो तथा सानो भेरी आसपासमा पानीको बहाव बढेर क्षति हुने जोखिम देखिएकाले यस क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचना गरिएको बताउनुभयो । जोखिमबाट बचाउन आठबीसकोट नगरपालिकाको गोतामकोटमा अस्थायी बसोबासका लागि क्षेत्र छुट्याइएको उहाँको भनाइ छ ।


