कर्णाली करिडोर ठप्प

+
-

हुम्ला । कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । शनिबार पहिरोसँगै ठूला ढुङ्गा खसेपछि करिब १०० मिटर सडक अवरुद्ध हुँदा करिडोरमा सवारी आवागमन ठप्प भएको हो ।

पहिरोका कारण करिडोर हुँदै आवतजावत गर्ने यात्रु तथा सवारीसाधन बीच बाटोमै रोकिएका छन्, सडकमा ठूलाठूला ढुङ्गा खसेकाले तत्काल सडक खुलाउन कठिन भएको छ । जिल्ला सदरमुकाम सिमकोटमा आज सञ्चालन हुने स्वास्थ्य शिविरमा सहभागी हुन अदानचुली गाउँपालिकाबाट आएका २७ जनाभन्दा बढी नागरिकसमेत बाटोमै अलपत्र परेको अदानचुली गाउँपालिका–२ का कमल बुढाले बताउनुभयो । आफू श्रीमतीको कानको उपचारका लागि शनिबार बिहान गाउँबाट सिमकोटतर्फ आएको तर, छारेभिरमा पहिरो खसेपछि आफूहरू बीच बाटोमै रोकिनुपरेको बताउनुभयो ।

“उहाँहरु पहिरोका कारण सर्केगाडको खडीखेतमा बसेर सडक खुल्ने आशामा पर्खिरहनुभएको छ । स्वास्थ्य शिविरमा उपचारका लागि जाने नागरिक सडक अवरुद्ध भएपछि समयमै सिमकोट पुग्न नसक्ने चिन्तामा छन्”, बुढाले भन्नुभयो ।