‘नेपालीको चेतनालाई विदेशी फन्डेड भन्नु खेदजनक’ : सांसद सोम शर्मा

अ+
अ
अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोम शर्माले नेपाली जनताको चेतना, आक्रोश र भावनालाई विदेशी पैसासँग जोडेर व्याख्या गर्नु खेदजनक भएको बताएका छन्।

संघीय संसद्को बैठकमा बोल्दै सांसद शर्माले रोजगारीका लागि विदेशिन बाध्य नेपाली युवाको पीडा, वर्षौँदेखि दुःख भोगिरहेको नेपाली समाजको भावना तथा सडकमा गोली लाग्दा बगेको नेपाली रगतलाई विदेशी पैसाले किनेको भनेर व्याख्या गर्नु आपत्तिजनक भएको बताए।

उनले नेपाली नागरिकको चेतनालाई ‘विदेशी फन्डेड’ भनेर भाष्य निर्माण गर्ने प्रयास भइरहेको भन्दै त्यसप्रति असन्तुष्टि जनाए।

‘नेपालीको मन, रोजगारीका लागि विदेशमा परेको युवाको पीडा र सडकमा गोली लाग्दा बगेको नेपाली रगतलाई विदेशी डरले किनेको हो भन्नेजस्तो भाष्य बनाइनु नितान्त खेदजनक छ,’ उनले भने।

शर्माले नेपाली नागरिकको चेतना र भावनालाई विदेशी फन्डसँग जोडेर कमजोर देखाउने प्रयास भइरहेको दाबी गर्दै यस्तो न्याराटिभ फैलाउन विदेशी लगानी नै आएको हो कि भन्ने प्रश्नसमेत उठाए।

‘सायद तपाईंहरूलाई यही न्याराटिभ फैलाउन चाहिँ राम्रै विदेशी लगानी आएको रहेछ भनेर हामीले बुझेका छौँ,’ उनले भने।