विभागका नायब सुब्बा कुटिए

अ+
अ
अ-

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, बबरमहलमा कार्यरत नायब सुब्बा दिवस श्रेष्ठमाथि कार्यालय सहयोगीले कुटपिट गरेको आरोप लागेको छ।

नायब सुब्बा श्रेष्ठले कार्यालय सहयोगी भक्त बस्नेतले आफूलाई कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दिएका छन्।

श्रेष्ठले प्रहरीमा दिएको उजुरीअनुसार १७ गते अपराह्न करिब ३ बजे कार्यालयमै उनीहरूबीच भनाभन भएको थियो। त्यसपछि नायब सुब्बा श्रेष्ठ र कार्यालय सहयोगी बस्नेतबीच कुराकानी भइरहेका क्रममा पुनः विवाद भएको र विवाद बढेपछि बस्नेतले रिसको आवेगमा आफूलाई कुटपिट गरेको श्रेष्ठको आरोप छ।

घटनाबारे श्रेष्ठले प्रहरीमा उजुरी दिएपछि प्रहरीले घटनाको विषयमा आवश्यक अनुसन्धान अघि बढाएको जनाइएको छ।कुटपिटको कारण र घटनाको वास्तविक अवस्थाबारे थप विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ।