बाढीमा बेपत्ता तीन जना जीवितै सेनाको सम्पर्कमा

बाढीले क्षति पुर्‍ययाएको नुवाकोटको त्रिशूली बजार त्रिशूली (नुवाकोट),१३ भदौः रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढीले क्षतिग्रस्त भएको नुवाकोटको त्रिशूली बजार। नदीमा आएको बाढीले बस्तीका संरचनामा ठूलो क्षति पुर्‍याएपछि बजार क्षेत्र बगरमा परिणत भएको छ। तस्बिरः प्रदीपराज वन्त/रासस
अ+
अ
अ-

कास्की । भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका पोखराका दुई र रुपा गाउँपालिकाका एक जना गरी तीन जना सम्पर्कमा आएका छन् । पोखरा महानगरपालिका-१५ का छमप्रकाश थापा र मनु बुढा सुरक्षित रूपमा घर आउनुभएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

यही भदौ ९ गते गोसाइँकुण्डका लागि पोखराबाट प्रस्थान गर्नुभएका थापा दम्पतीसँग बाढीलगत्तै सम्पर्क हुन नसकेपछि मेलिना थापाले प्रशासनमा खोजीका लागि निवेदन दिनुभएको थियो । आफ्ना काका/काकी भदौ १५ गते साँझ घरमा आइपुग्नुभएको मेलिनाले बताउनुभयो ।

“बाढी आउनुअघि स्याफ्रुबेँसी पार गरेर उहाँहरू पहिल्यै गोसाइँकुण्डतर्फ लागिसक्नुभएको रहेछ । बाटोमा सम्पर्क हुन नसकेपछि हामी चिन्तित भयौँ र खोजीका लागि आग्रह गरेका थियौँ । पछि सम्पर्क भयो र अहिले घरमा आइसक्नुभएको छ”, थापाले भन्नुभयो ।

यसैगरी, बाढीपछि सम्पर्कविहीन हुनुभएका रुपा गाउँपालिका-७ का २९ वर्षीय सरोज विक पनि परिवारको सम्पर्कमा आउनुभएको प्रशासनले जनाएको छ । बाढीपछि हराएका पोखराका १२ जनाको अवस्था भने अझै अज्ञात रहेको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिनुभयो ।

हालसम्म सम्पर्कमा नआएकामा पोखरा-१७ की सविना पौडेल (मिश्र), पोखरा-५ की सृष्टि बास्तोला, पोखरा-६ का अभिषेक आचार्य, पोखरा-१२ का लिला बहादुर थापा र सुमन श्रेष्ठको अवस्था अझै अज्ञात छ । पोखरा-१५ की देवीकुमारी गुरुङ, पोखरा-१३ की विनु गुरुङ र उषा गुरुङ, पोखरा-१४ का गोविन्दबहादुर अधिकारी, पोखरा-१० काजीपोखरीकी देवीकुमारी गुरुङ, पोखरा-१२ जयटोलका दिलबहादुर थापा तथा पोखरा-११ का उज्ज्वल गुरुङको पनि अवस्था पत्ता लाग्न नसकेको प्रशानले जनाएको छ ।