दक्षिण कोरियाको बुसाननजिक समुद्री क्षेत्रमा बुधबार टगबोट पल्टिएर डुब्दा एक जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन्।
दक्षिण कोरियाली कोस्ट गार्डका अनुसार २८६ टन क्षमताको उक्त टगबोटमा आठ जना चालक दलका सदस्य सवार थिए। बुसान बन्दरगाहबाट अर्को व्यापारिक जहाजलाई तान्नका लागि निस्किएको टगबोट स्थानीय समयअनुसार दिउँसो करिब १ः३० बजे बुसानको ओरिक्दो टापुनजिक समुद्रमा पल्टिएको थियो।
पल्टिएपछि एक इन्डोनेसियाली चालक दलका सदस्यलाई नजिकै रहेको व्यापारिक जहाजले उद्धार गरेको थियो। अर्का दक्षिण कोरियाली चालक दलका सदस्यलाई कोस्ट गार्डका उद्धारकर्मीले बेहोस अवस्थामा फेला पारेका थिए। अस्पताल पुर्याइए पनि उनको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
बेपत्ता रहेका ६ जनाको खोजीका लागि दक्षिण कोरियाली कोस्ट गार्ड र नौसेनाले जहाज तथा विमान परिचालन गरेका छन्। समुद्रमा करिब १.५ मिटर अग्लो छाल र तीव्र हावाका कारण उद्धार तथा खोजी कार्यमा कठिनाइ भइरहेको जनाइएको छ। टगबोट दुर्घटनाको करिब दुई घण्टापछि दिउँसो ३ः३० बजे पूर्ण रूपमा समुद्रमा डुबेको थियो।
दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले बेपत्ता चालक दलका सदस्यको खोजी तथा उद्धारका लागि उपलब्ध सबै स्रोतसाधन परिचालन गर्न निर्देशन दिएका छन्। दुर्घटनाको कारण भने तत्काल खुल्न सकेको छैन।
फोटो क्याप्सन: दक्षिण कोरियाको बुसाननजिक टगबोट पल्टिएपछि उद्धार अभियानमा खटिएका कोस्ट गार्डका कर्मचारी। (बुसान कोस्ट गार्डमार्फत एपी)


