काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले राष्ट्रिय मानव अधिकार आयोग तथा अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी निकायको परिसरमा रहेका नागरिकलाई जबर्जस्ती उठाउने प्रयास तत्काल रोक्न माग गरेको छ
महाअभियानका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाद प्रसाईँद्वारा जारी प्रेस विज्ञप्तिमा दुई वर्षका बालबालिकादेखि ७० वर्षसम्मका वृद्धवृद्धासम्म पीडित नागरिकलाई मध्यरातमा जबर्जस्ती उठाएर लैजाने प्रयास भइरहेको आरोप लगाइएको छ।
विज्ञप्तिमा कुनै अप्रिय घटना वा नागरिकको हताहती भए त्यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी दिइएको छ।
महाअभियानले पीडित नागरिकको सुरक्षा तथा संरक्षणको जिम्मेवारी राष्ट्रिय मानव अधिकार आयोग, अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी निकाय र नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको जनाएको छ। अब पीडित नागरिकको जीवनरक्षा, व्यवस्थापन तथा उनीहरूका माग सम्बोधन गर्ने सम्पूर्ण जिम्मेवारी सरकारको भएको विज्ञप्तिमा उल्लेख छ।
‘अब कुनै अप्रिय घटना घटे यसको जिम्मेवारी हामी हुने छैनौँ,’ विज्ञप्तिमा भनिएको छ।
महाअभियानले गत साउन ३१ गते रातिदेखि आफूहरूलाई नजरबन्दमा राखिएको दाबी गर्दै बाहिर रहेका नागरिकप्रति गरिएको व्यवहारलाई अमानवीय भन्दै त्यसको घोर भर्त्सना गरेको छ।
महाअभियानले नागरिकको मानव अधिकार र सुरक्षाको विषयमा सम्बन्धित निकायलाई गम्भीर बन्नसमेत आग्रह गरेको छ।


