काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको तय भएको चीन भ्रमण स्थगित भएको छ। यसअघि अगस्टको दोस्रो साता चीन भ्रमण गर्ने तयारी भए पनि आन्तरिक तयारीलगायतका कारण भ्रमण स्थगित गरिएको बताइएको छ।
अब लामिछानेको चीन भ्रमण आगामी सेप्टेम्बरको दोस्रो साताका लागि सारिएको छ। यसअघि उनको नेतृत्वमा चार सदस्यीय टोली अगस्टको दोस्रो साता बेइजिङ जाने तयारीमा रहेको जनाइएको थियो।
भ्रमणका क्रममा लामिछानेले चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा उच्च सरकारी अधिकारीहरूसँग भेटवार्ता गर्ने अपेक्षा गरिएको छ। यद्यपि चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता हुने कार्यक्रम भने नरहेको स्रोतलाई उद्धृत गर्दै समाचारमा उल्लेख गरिएको छ।
लामिछानेको चीन भ्रमणका क्रममा तिब्बतस्थित मानसरोवर पुग्ने कार्यक्रमसमेत रहेको एक उच्च सरकारी अधिकारीले बताएका छन्। यसअघि मानसरोवर भ्रमणलाई लिएर केही अन्योल रहे पनि अहिले भ्रमणको कार्यक्रममै समावेश गरिएको जनाइएको छ।

