काठमाडौं । नेपालमा रहेका तथा पोर्चुगलमा बसोबास गर्ने नेपालीका लागि महत्वपूर्ण मानिएको निर्णयअनुसार काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय स्थापना हुने भएको छ।
नेपाल सरकारको साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले पोर्चुगल सरकारलाई काठमाडौंमा कन्सुलर कार्यालय खोल्न सहमति दिने निर्णय गरेको थियो । कार्यालय सञ्चालनमा आएपछि भिसा, कागजात प्रमाणीकरणलगायतका कन्सुलर सेवा लिन नेपालीलाई सहज हुने भएको छ।
यसअघि नेपाल सरकारले काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय स्थापना गर्न आवश्यक पहल अघि बढाएको थियो। परराष्ट्रमन्त्री शिशिर खनालले पोर्चुगलका विदेशमन्त्री पाउलो राङ्गेलसँग टेलिफोन संवाद गरी कन्सुलर कार्यालय स्थापनाकाे विषयमा छलफल गरेका थिए। अप्रिल २०२६ मा नेपाल भ्रमणमा आएकी पोर्चुगलकी उपविदेशमन्त्री डा. आना इसाबेल जेभियरसँग पनि यस विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको थियो।
नेपाल र पोर्चुगलबीचको सम्बन्धलाई थप संस्थागत बनाउन कन्सुलर कार्यालयले सहज भूमिका खेल्ने अनुमान छ। यसले पर्यटन, व्यापार, लगानी, श्रम तथा अन्य क्षेत्रमा दुई देशबीचको सहकार्य विस्तारमा समेत सहयोग पुग्ने सरकारी अपेक्षा छ।
यस निर्णयको गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलले स्वागत गर्दै नेपाल तथा पोर्चुगल सरकारप्रति आभार व्यक्त गरेको छ। एनआरएनए पोर्चुगलका अध्यक्ष सुजन लामा मोक्तानले कार्यालय सञ्चालनमा आएपछि पोर्चुगलमा रहेका नेपालीले विभिन्न कन्सुलर सेवा लिन सहज हुने बताएका छन्।

