बच्चाले सिट बेल्ट बाँध्न नमानेपछि एयरलाइन्सको उडान नै रद्द

+
-

क्यानाडाको ब्रिटिस कोलम्बियास्थित हेक्टर इन्टरनेसनल एयरपोर्टबाट उडान भर्न लागेको पोर्टर एयरलाइन्सको विमानमा एक बालकले सिट बेल्ट बाँध्न नमानेपछि उडान नै रद्द भएको छ।

बुबा–आमासहित यात्रामा रहेका ती बालकले विमान उड्नुअघि सिट बेल्ट लगाउन अस्वीकार गरेका थिए। उनका अभिभावक र चालक दलका सदस्यहरूले पटक–पटक सिट बेल्ट बाँध्न अनुरोध गरे पनि बालकले नमानेपछि विमान उड्न नसकेको बताइएको छ।

सिट बेल्ट नलगाई विमान उडान गर्न नमिल्ने भएपछि पोर्टर एयरलाइन्सले उडान रद्द गर्ने निर्णय गरेको हो। उक्त घटनाका कारण पीडी ४४४ नम्बरको उडान प्रभावित भएको बताइएको छ।

घटनापछि एयरलाइन्सले यात्रुहरूलाई परेको असुविधाप्रति माफी मागेको छ। सामान्यजस्तो देखिने बालकको सिट बेल्टसम्बन्धी अडानका कारण पूरै उडान रद्द भएपछि उक्त घटना सामाजिक सञ्जालमा समेत चर्चाको विषय बनेको छ।

उडान सुरक्षाका लागि टेकअफअघि यात्रुले अनिवार्य रूपमा सिट बेल्ट बाँध्नुपर्ने भएकाले चालक दलले नियम पालना गराउन खोज्दा उडान रद्द गर्नुपरेको एयरलाइन्सले जनाएको छ।