एजेन्सी । ग्रीसमा डढेलो नियन्त्रण गर्ने क्रममा दुईवटा हेलिकप्टर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
ग्रीसको राजधानी एथेन्सबाट करिब ६५ किलोमिटर टाढा रहेको क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रण गर्ने अभियानका क्रममा हेलिकप्टरहरू एकआपसमा ठोक्किएक बीबीसीले जनाएको छ।
दुर्घटनामा ज्यान गुमाउनेहरूमा डेनमार्कका एक पाइलट र ग्रीसको अग्नि नियन्त्रण सेवाका एक अधिकारी रहेका छन्।
गत सातादेखि ग्रीसका विभिन्न क्षेत्रमा फैलिएको डढेलोका कारण हजारौँ मानिसलाई सुरक्षित स्थानमा सार्नुपरेको थियो। लामो समयदेखि युरोपभर बढ्दो गर्मी र सुख्खा मौसमका कारण ग्रीसलगायत विभिन्न देशमा डढेलोका घटना तीव्र रूपमा बढिरहेका छन्।
दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। घटनापछि सुरक्षा मूल्याङ्कनका लागि देशभर सञ्चालनमा रहेका सबै हेलिकप्टरको उडान अस्थायी रूपमा स्थगित गरिएको ग्रीसको नागरिक सुरक्षा मन्त्रालयले जनाएको छ।
यसैबीच, साताको सुरुवाततिर फ्रान्स र स्पेनमा पनि ठूला डढेलोका घटना भएका थिए। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार ती घटनाबाट करिब तीन लाख मानिस प्रत्यक्ष प्रभावित भएका थिए ।
ग्रीसमा फैलिएको डढेलो नियन्त्रणका लागि एरिक्सन एअर–क्रेन, चिनुक हेलिकप्टर तथा क्यानाडियर पानी बोक्ने विमान लगायतका विशेष हवाई साधन परिचालन गरिएको छ। अधिकारीहरूले डढेलो नियन्त्रण तथा प्रभावित क्षेत्रको सुरक्षा व्यवस्थापनलाई तीव्र बनाइएको बताएका छन्।


