काठमाडौ । विगत लामो समयदेखि चर्किँदै आएको अमेरिका- इरानबीचको सैन्य तनाव तत्कालका लागि रोकिएको जनाइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत केही समयका लागि इरानमाथिको सैन्य हमला स्थगित गर्ने संकेत दिएका हुन्।
विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार साउदी अरबका युवराज मोहम्मद बिन सलमानले राष्ट्रपति ट्रम्पसँग टेलिफोन संवाद गर्दै इरानविरुद्धको सैन्य कारबाही रोक्न आग्रह गरेका थिए। त्यसपछि युद्धको अवस्था थप जटिल नबनोस् भन्ने उद्देश्यले केही समयका लागि सैन्य हमला रोक्ने निर्णय गरिएको बताइएको छ।
यस्तै, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), टर्की तथा पाकिस्तानलगायतका मुलुकहरूले पनि अमेरिका र इरानबीच बढ्दो तनाव कम गर्न कूटनीतिक पहल गरेका छन्।
यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमाथि व्यापक सैन्य आक्रमण गर्ने चेतावनी दिएका थिए। त्यसको प्रत्युत्तरमा इरानले पनि अमेरिका कुनै पनि आक्रमणको परिणामस्वरूप ठूलो क्षति बेहोर्न बाध्य हुने चेतावनी दिएको थियो। दुवै देशका अभिव्यक्तिपछि मध्यपूर्व क्षेत्रमा युद्ध थप चर्किने आशंका बढेको थियो।
यद्यपि पछिल्लो घटनाक्रमसँगै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले युद्ध तत्कालका लागि रोकिएको उल्लेख गरेका छन्। विभिन्न तथ्यगत रिपोर्टहरूलाई पुष्टि गर्दै अन्तर्राष्ट्रिय समाचार एजेन्सि हरुले सैन्य कारबाही रोक्नुका पछाडि क्षेत्रीय कूटनीतिक दबाब, सम्भावित मानवीय क्षति तथा मध्यपूर्वमा थप अस्थिरता सिर्जना हुन नदिन गरिएको प्रयासलाई प्रमुख कारणका रूपमा प्रस्तुत गरिएको छ।


