काठमाडौं। इरानले अमेरिकी सैन्य अड्डा तथा जहाजलाई लक्षित गर्दै गरेको आक्रमणपछि अमेरिकाले शक्तिशाली जवाफी सैन्य कारबाही गर्ने चेतावनी दिएको छ।
अमेरिकी केन्द्रीय कमान्डले सामाजिक सञ्जाल एक्समार्फत विज्ञप्ति जारी गर्दै इरानले अमेरिकी सैन्य संरचनालाई लक्षित गरी गरेको आक्रमणको उचित र कडा जवाफ दिइने जनाएको छ।
यसअघि सोमबार अमेरिका र साउदी अरेबियाले संयुक्त रूपमा इरानका विभिन्न सैन्य संरचनामाथि हवाई आक्रमण गरेका थिए। त्यसलगत्तै क्षेत्रीय सुरक्षा अवस्था थप तनावपूर्ण बनेको छ।
बुधबार सम्भावित जवाफी आक्रमणको घोषणा हुनुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कडा सैन्य कारबाही गरिने चेतावनी दिएका थिए। उनले इरानको सैन्य क्षमता कमजोर पार्न आवश्यक कदम चालिने बताएका थिए।
यसअघि भएको हवाई आक्रमणमा इरानका हतियार भण्डार तथा सैन्य संरचनालाई मुख्य लक्ष्य बनाइएको बताइएको छ। विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ती आक्रमणमा दर्जनौं व्यक्तिको मृत्यु भएको दाबी गरिएको छ।


