टुकी न्युज विशेषपत्रपत्रिकाबाटबिचार/ब्लगमनोरञ्जनसमाचार
कविता :- मृगतृष्णाकाे युग

“मृगतृष्णाको युग”
– शिशिर भण्डारी
आजभोलि
जता हेर्यो उतै
एउटा मरुभूमि फैलिएको छ ।
त्यो केवल भूगोलको मरुभूमि होइन,
मानिसको चेतनाभित्र उम्रिएको मरुभूमि हो ।
यहाँ
बालुवा मात्र बालुवा छ –
सूचनाका बालुवा,
नाराका बालुवा,
उत्तेजनाका बालुवा
अर्थात
हतारमा जन्मिएका विश्वासहरू ।
दिनभरि
हावाले तिनलाई उडाइरहन्छ,
आकाश धमिलो बनाइरहन्छ ।
जसले आँखाभरि चमक त भर्छन्,
तर बाटो देखाउँदैनन्
र हामी
त्यही धुलोलाई क्षितिज सम्झेर दौडिरहेका हुन्छौँ ।
कुनै समय
यहीँ एउटा कुवा थियो –
गहिरो,
चिसो,
निर्मल ।
त्यसको नाम थियो – विचार ।
मानिसहरू त्यहाँबाट अर्थ पिउँथे,
प्रश्न भर्थे,
आफ्नो आत्माको तिर्खा मेटाउँथे ।
तर धेरै वर्ष भयो,
त्यो कुवा पुरिएको ।
थाहा भएन –
कुवा कहिले पुरियो ।
जब मानिसहरूले फर्केर हेरे,
त्यहाँ केवल समथर बालुवा थियो ।
शायद
त्यो बालुवासंगै –
कसैले हल्ला,
कसैले हतार,
कसैले स्वार्थ थुपारिदियो ।
आज
कुवाको ठाउँमा
एउटा सानो खाल्डोको आकृति बाँकी छ ।
बेला-बेला
बर्षामा पानी परेको बखत
त्यो आकृतिमा थोरै पानी देखिन्छ ।
मानिसहरू कराउँछन्—
“भेटियो !”
“यही हो सत्य !”
“यही हो मुक्ति !”
र हजारौँ भिड त्यतैतिर दौडिन्छन् ।
तर नजिक पुग्दा
त्यो फेरि मृगतृष्णा भइदिन्छ –
बालुवामाथि उभिएको एउटा झुटो नदी ।
मरुभूमिले मानिसलाई एकैचोटि मार्दैन ।
पहिले उसको दिशाबोध खोस्छ ।
पछि उसको धैर्य ।
पछि उसको प्रश्न ।
र अन्त्यमा उसको तिर्खा ।
तिर्खा मरेपछि पानीको अर्थ पनि मर्छ ।
मलाई डर लाग्छ –
हामी पानी नभएको युगमा होइन,
पानी खोज्ने इच्छा नभएको
युगमा पो बाँचिरहेका छौँ कि ?
किनकि
सभ्यताहरू कुवाहरू सुकेर मात्र मर्दैनन् ।
ती आफ्ना प्रश्नहरू हराउँदा मर्छन् ।
आफ्नो तिर्खा बिर्सँदा मर्छन् ।
तर
बालुवामुनि कतै
पानीको एउटा नसो अझै बाँचेको छ ।
सायद
त्यो कुनै पुरानो पुस्तकको पानामा,
कुनै निषेधित प्रश्नमा,
कुनै एक्लो असहमतिमा,
वा
कसैले नपढेको कविताको अन्तिम हरफमा ।
यदि
कुनै दिन त्यो पानीको नसोले
फेरि आफ्नो बाटो भेट्यो भने,
बालुवामुनि फेरि एउटा शिरा धड्किन थाल्नेछ ।
र धेरै वर्षदेखि मौन रहेको बालुवाले
फेरी पानीको आवाज सुन्नेछ ।
त्यसपछि
सायद हामीले फेरि सम्झिनेछौँ –
बाँच्नका लागि पानी मात्र होइन,
तिर्खा पनि चाहिन्छ ।
– २०८३ जेठ ३१ गते ।
