समाचार
उज्यालो नेपाल पार्टी काभ्रे २ काे उमेदवार सैजु

माघ १५ बिहीबार ,२०८२
काभ्रेपलाञ्चोक । उज्यालो नेपाल पार्टीकी उम्मेदवार ज्योत्सना सैजुले सामाजिक न्याय, सुशासन र समृद्धि आफ्नो पार्टीको मूल उद्देश्य रहेको बताउनुभएको छ। टुकी नेटवर्कसँग कुरा गर्दै उहाँले सुशासनविना समृद्धि सम्भव नहुने र समृद्धिले नै सामाजिक न्यायलाई मजबुत बनाउने धारणा व्यक्त गर्नुभयो।
सैजु काभ्रे निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यकी उम्मेदवार हुनुहुन्छ। भ्रष्टाचारले आक्रान्त मुलुक नेपालमा ‘जेन–जि आन्दोलन’पछि स्थापना भएको उज्यालो नेपाल पार्टीले नयाँ राजनीतिक आयाम थप्न सहयोगी भूमिका निर्वाह गर्नेमा उहाँले जोड दिनुभयो।
संक्रमणकालीन अवस्थामा हुन लागेको निर्वाचन सफल पार्न उज्यालो नेपाल पार्टीलाई भोट दिन उहाँले आम मतदातासँग अपिल गर्नुभयो। निर्वाचन प्रक्रियाले नै मुलुकलाई निकास दिने र राजनीतिक स्थिरता कायम गर्ने स्पष्ट आधार देखिएको भन्दै उज्यालो नेपाल पार्टीप्रति विश्वास गर्ने आधारहरू प्रशस्त रहेको उहाँको भनाइ छ।
करिब ३६ वर्षसम्म शासन गरेका पुराना राजनीतिक दलहरूबाट अपेक्षित परिवर्तन हुन नसकेको जनाउँदै उम्मेदवार सैजुले यही अवस्थाका कारण नयाँ दल दर्ता गरी चुनावी मैदानमा उत्रिनु पर्ने बाध्यता सिर्जना भएको बताउनुभयो।

