
काभ्रे ।विश्वकै अनौठो धार्मिक स्थल कालाग्निरुद्रपीठ लड्केश्वर धामले धार्मिक पर्यटनमा नयाँ आयाम थपेको छ । मुकुन्द शर्मा हुमागाईको नेतृत्वमा ६.५ केजी शुद्ध चाँदीको विशेष निशानी निर्माण गरिएको छ, जसको अनावरण संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री बद्री पाण्डे र सन्तसमाजका तर्फबाट श्री १००८ स्वामी रमणानन्द महाराजको संयुक्त करकमलबाट सम्पन्न भयो ।
समारोहमा विद्वान प्रा.डा. भवानी खतिवडा, भारत नागेश्वर ज्योतिर्लिंगका अर्चक दर्शन नागनाथ, राष्ट्रिय पञ्चाङ्ग समितिका सदस्य लक्ष्मण पंथी, राजनितिज्ञ मधु आचार्य, पनौती नगरपालिकाका मेयर रामसरण भण्डारी, वेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी र अन्य भक्तजनहरुको गरिमामय उपस्थिती रहेको थियो ।
पीठाधीश मुकुन्द शर्माले आफ्नो संकल्पअनुसार अब “राष्ट्र र राष्ट्रियता प्रति श्रद्धा एवं संकल्प यात्रा” अन्तर्गत हरेक जिल्लामा यस निशानीको यात्रा गरिने जानकारी दिनुभयो । दर्शन गर्न नपाएकालाई लड्केश्वर दर्शनको अनुभव प्रदान गर्न र यात्राको सुरक्षा सुनिश्चित गर्न गृह मन्त्रालय र ७७ जिल्ला प्रशासनसँग समन्वय भइसकेको छ ।
मुकुन्द शर्माको नेतृत्वमा लड्केश्वर धाम अब राष्ट्रिय धार्मिक र पर्यटकीय गन्तव्यको रूपमा स्थापित हुँदैछ । यस प्रयासले न केवल श्रद्धालु भक्तजनलाई आकर्षित गर्नेछ, तर धार्मिक पर्यटनमा नयाँ उत्साह र अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
