समाचार
साहित्यकार डा. रमेश शुभेच्छु ‘जदौ साहित्य पुरस्कार’ बाट सम्मानित हुने

श्रावण १५, बिहीबार, २०८२
काठमाडौं । नागार्जुन साहित्यिक प्रतिष्ठानले साहित्यकार डा. रमेश शुभेच्छुलाई ‘जदौ साहित्य पुरस्कार’ प्रदान गर्ने भएको छ। प्रतिष्ठानले ‘जदौ क्रान्ति’का नायक दाहाल यज्ञनिधिको जन्मजयन्तीको अवसर पारेर शुभेच्छुलाई पुरस्कृत गर्ने निर्णय गरेको हो।
प्रतिष्ठानका महासचिव युवराज नास्तिकका अनुसार पुरस्कार आगामी श्रावण १७ गते आयोजना हुने नियमित ‘सुप्रभात काव्यगोष्ठी’ कार्यक्रममा प्रदान गरिनेछ।
पुरस्कारका लागि गठित छनोट समितिमा प्राज्ञ मातृका पोखरेल, डा. हरि प्रसाद सिलवाल, पूर्व अध्यक्ष प्रकाश सिलवाल, गंगा खतिवडा र अक्षयकोषदाता सुधा दाहाल सदस्य छन्।
समितिले दाहाल यज्ञनिधि र ‘जदौ अभियान’ सम्बन्धी लेखन, अनुसन्धान, प्रकाशन र खोजमा योगदान पुर्याएका दिनेश लुइँटेल, देवु लुइँटेल, रोजन राई र डा. शुभेच्छुलाई सूचीकृत गरी अन्ततः डा. शुभेच्छुलाई पुरस्कारका लागि छनोट गरेको हो।
प्रतिष्ठानले ‘जदौ साहित्य पुरस्कार’ यही वर्षदेखि सुरु गरेको हो। महासचिव नास्तिकका अनुसार साउन ८ गते पर्ने दाहाल यज्ञनिधिको जन्मजयन्तीलाई स्मरण गर्दै नियमित कार्यतालिका र आर्थिक वर्षको समाप्तिका कारण साउन १७ गते कार्यक्रम तय गरिएको हो।
