समाचार
ध्रुवीकरणको घेरामा एमाले: उषा किरणको स्टाटसले पार्टीको अन्तरविरोध चिर्दै

श्रावण ७ बुधबार ,२०८२
डिकेन्द्र बस्नेत
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा (एमाले) को आन्तरिक राजनीतिमा संलग्न हुन रोक लगाउने निर्णयपछि पार्टीभित्र बहस चुलिएको छ। सोही सन्दर्भमा, साहित्यकार तथा दीर्घकालीन समर्थक उषा किरणले सामाजिक सञ्जालमार्फत भावुक र आलोचनात्मक टिप्पणी गर्दै लेखेकी छन् “नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पुर्याउने रहेछन्।”
उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै लेखेकी छन् “तपाईंहरू मध्ये कति जना यो निर्णयबाट छक्क पर्नुभएको देखेर म छक्क परें। तपाईंहरू मानव प्रकृतिलाई नहेरी कसरी बाँचिरहनुभएको छ?”
उनी भन्छिन्, निर्णय र त्यसमा प्रयोग भएका ‘तिगडम’ ले आफूलाई अचम्मित नगरे पनि यो प्रकरण सार्वजनिक रूपमा बाहिरिएकोमा आफू सन्तुष्ट भएको बताउँछिन्।
परिवारको साथ, तर अब गुमेको विश्वास
उषा किरणले विगतमा आफ्नो परिवारले एमालेलाई नैतिक समर्थन गर्दै आएको स्मरण गराउँदै लेखेकी छन् —
“हामीलाई त आमाले राजनीति गर्न मन छैन भने पनि सधैं पार्टीको समर्थनमा उभिनु, नैतिक समर्थन गर्नु, टाढा नजानु भन्ने हुन्थ्यो। सोही अनुरूप प्रयास गरियो।” तर पछिल्लो घटनाक्रमले यस्तो समर्थन पनि असम्भव बनाएको उनी बताउँछिन्।
पार्टीभित्र चुलिंदो ध्रुवीकरण
एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई खुला रूपमा पार्टी कार्यक्रममा सहभागी हुन रोक लगाएपछि नेताहरूबीच मतभेद चर्किएको छ। केहीले निर्णयलाई सही ठहर गर्दै पार्टीको अनुशासन र मर्यादा कायम भएको बताइरहेका छन् भने, केहीले यसलाई व्यक्तिगत आस्थामाथिको हमला र असहिष्णुताको दृष्टान्त मानेका छन्।
यसै सन्दर्भमा उषा किरणको अभिव्यक्ति पार्टीभित्रको भावनात्मक असन्तोषको प्रतिनिधि आवाज बनेर देखा परेको छ।
उनले लेखेकी छन् “यो ज्ञानको बोझ आज यहाँ बिसाउने मौका यो प्रकरणले दियो – त्यस कारण यो प्रकरणलाई धन्यवाद।”
उनको स्टाटसले वर्तमान निर्णयहरू पार्टीप्रति निष्ठावानहरूलाई पनि कत्तिको पीडित तुल्याइरहेको छ भन्ने संकेत गरेको छ।


