सन्दीपलाई थप समय हिरासत राख्न अनुमति लिने प्रहरीको तयारी

+
-

१ कात्तिक, काठमाडौं । प्रहरीले बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतसँग अनुमति लिने तयारी गरेको छ ।

अनुसन्धान नसकिएको भन्दै प्रहरी वृत्त, गौशालाले अझै एक साता हिरासतमा राखेर अनुसन्धान गर्न दिन जिल्ला अदालत काठमाडौंसँग अनुमति माग्ने तयारी गरेको हो ।

२० असोजमा पक्राउ परेका लामिछानेलाई सार्वजनिक विदाका कारण २४ असोजमा मात्र पहिलो पटक अदालत उपस्थित गराइएको थियो । सुरुमा ७ दिन हिरासतमा राख्न अनुमति लिएको प्रहरीले अनुसन्धान नसकिएको भन्दै दोस्रो पटक ५ दिन हिरासतमा राख्न अनुमति लिएको थियो ।

दोस्रो पटक थपिएको म्याद मंगलबार सकिँदैछ । ‘आज (मंगलबार) सरकारी विदा परेको छ, त्यसैले बुधबार अदालत हाजिर गराउँछौं’, जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले अनलाइनखबरसँग भने, ‘अनुसन्धान अझै बाँकी भएकाले फेरि म्याद थप गर्न समय माग्छौं ।’

दोस्रो पटक म्याद थप हुँदा सन्दीपको पक्षमा वकालत गरिरहेका कानुन व्यवसायीहरुले थपिएको म्यादपछि मुद्दा दर्ता होस् भन्ने चाहेको बताएका थिए । तर प्रहरीले घटनामा अनुसन्धान नसकिएको बताएको छ । र, थप समय हिरासतमा राख्न अनुमति लिने तयारी गरेको छ ।