अ+
अ
अ-
काठमाडौं, असोज १३ । राजधानीका स्थानीय तहमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग गर्ने वनस्पति गुर्जो रोपणका लागि वितरण अभियान तीव्र भएको छ ।
गुर्जोका बिरुवा निःशुल्क बाँड्दै आएका आन्तरिक राजश्व कार्यालय लहानका प्रमुख कमलबहादुर राजलवटले सोमबार राजधानीका तीन स्थानीय तह र त्रिभुवन विश्वविद्यालयका चार विभागमा बिरुवा हस्तान्तरण गरेका छन् ।
बूढानीलकण्ठ नगरपालिकालाई २००, महालक्ष्मी नगरपालिकालाई २०० र सूर्यविनायक नगरपालिका–५ लाई ३०० गुर्जोका बिरुवा हस्तान्तरण गरिएको अभियानकर्मी राजलवटले राससलाई जानकारी दिए ।

बूढानीलकण्ठ नगरपालिकामा कोरोना भाइरसको सङ्क्रमण भई आइसोलेसन कक्षमा बसेका ३५ जनालाई गुर्जोबाट बनेको चियासमेत ३५ केजी नगर प्रमुख उद्धवप्रसाद खरेलमार्फत् हस्तान्तरण गरिएको छ । कोरोना पोजेटिभ भएकालाई फेरि दिने प्रतिबद्धता अभियानकर्मी राजलवटले जनाएका छन् ।

उपत्यकामा एक घर एक गुर्जोको बिरुवा रोप्नुपर्ने अभियानका रूपमा अघि बढाइएको छ । गुर्जो रोपण अभियानमा हाल उपत्यकामा क्रियाशील वाग्मती, रुद्रमती, विष्णुमती, चक्रपथलगायत क्षेत्रका सफाइ अभियानकर्मी पनि लागेका छन् । उपत्यकाका सबै नदी किनारमा गुर्जोको बिरुवा रोप्ने अभियानसमेत शुरु भइसकेको छ । नदी किनारका प्रत्येक घरमा समेत गुर्जो रोपण अभियान जारी छ ।





