समाचार

सरकारले सहुलियतमा दिने गरेको चामल अझैसम्म पुगेन,दशै नजिकिदा खाने चामल छैन

गोरखा । दशैँ नजिकिँदै गर्दा गोरखाको विकट उत्तरी क्षेत्रका लागि सरकारले सहुलियतमा दिने गरेको चामल अझैसम्म पुग्न सकेको छैन । उत्तरी क्षेत्रका साविकका १३ गाविसका स्थानीयवासीलाई सहुलियत दरमा बिक्री गर्न लैजानुपर्नेमा आर्थिक वर्ष शुरु भएको साढे ३ महीना बितिसक्दा पनि चामल ढुवानी हुन नसकेको हो ।

नेपाल खाद्य संस्थान गोरखाले चामल ढुवानी गर्न असारमै टेण्डर आह्वान गरेको भए पनि टेण्डर प्रक्रिया पूरा नहँुदा चामल ढुवानी शुरु हुननसकेको संस्थानका डिपो प्रमुख शिवराज घिमिरले जानकारी दिए। “असार महीना शुरु भएलगत्तै दुवै डिपोका लागि टेण्डर आह्वान गरिएको हो, तर माछाखोला डिपोको लागि मात्र भर्खर स्वीकृति प्राप्त भएको छ”, डिपो प्रमुख घिमिरले भने, “समयमै टेण्डर आह्वान गरेपनि स्वीकृत नभएकाले चामल ढुवानी हुननसकेको हो ।”

संस्थानले माछाखोला डिपोका लागि ठेक्का प्रक्रिया पूरा गरेको भए पनि त्यहाँका लागि समेत अझै सम्झौता हुन भने बाँकी रहेकोे घिमिरले जनाए । समयमा सम्झौता हुन नसक्दा माछाखोला डिपोमा पनि दशैँअघि चामल पु¥याउन नसक्ने उनले जानकारी दिएका छन । खाद्य संस्थानले माछाखोला डिपोमा चालु आर्थिक वर्षका लागि २५ सय क्विन्टल चामल ढुवानी गर्नुपर्नेछ ।

चालु आर्थिक वर्षमा संस्थानले माछाखोला डिपोका लागि प्रतिक्विन्टल रु एक हजार ९५० मा चामल दुवानी गर्ने गरी प्रगति निर्माण सेवासँग सम्झौता प्रक्रिया अघि बढाएको घिमिरेले जानकारी दिए । यता सिर्दिबास डिपोका लागि भने असारमा खुलाएको टेण्डर प्रक्रिया नमिलेपछि भदौमा पुनः टेण्डर आह्वान गरिएको डिपो प्रमुख घिमिरेको भनाइ छ ।संस्थानले चालु आवमा सिर्दिबास डिपोका लागि सदरमुकामबाट दुई हजार क्विन्टल चामल दुवानी गर्नुपर्नेछ ।

गोरखा सदरमुकामदेखि आरुघाटको सोतीबजारसम्म यातायात साधन प्रयोग गरी चामल ढुवानी गर्ने भए पनि सोती बजारदेखि माथि खच्चडलाई बोकाएर लैजानुपर्ने बाध्यता छ ।

खाद्य संस्थान गोरखाले माछाखोला डिपोबाट वितरण गर्ने अनुदानको चामल जिल्लाको साविकका केरौजा, उहिया, काशीगाउँ, लापु, गुम्दा र लाप्राकका साविक गाविसका बासिन्दालाई वितरण गर्दै आएको छ । त्यस्तै सिर्दिबास डिपोबाट वितरण गरिने चामल सिर्दिबास, ल्हो, प्रोक, छेकम्पार, चुम्चेत, सामागाउँका बासिन्दालाई वितरण गरिदै आएको छ ।

अहिले संस्थानको सिर्दिबास डिपोमा १०३ क्विन्टल र माछाखोला डिपोमा ७९० क्विन्टल चामल रमौज्जाद रहेको डिपो प्रमुख घिमिरेले जनाए । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *