प्रवासविश्वसमाचार

भारतीय मिडियाकाे सन्देश ,नेपाल–भारत सम्बन्ध ‘रिसेट’ गरि सीमा विवाद वार्ताबाटै टुंग्याउने जोड।

२०८३जेठ २४आइतबार
काठमाडौं  । भारत भ्रमणबाट आज फर्किएका  नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकर बीच भएको उच्चस्तरीय भेटवार्ताले नेपाल–भारत सम्बन्धलाई नयाँ ढंगले अघि बढाउने संकेत दिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

भारतीय मिडियाका अनुसार दुवै देशले सीमा विवादलगायतका संवेदनशील विषयहरू संवाद र कूटनीतिक माध्यमबाट समाधान गर्दै आर्थिक, ऊर्जा, व्यापार तथा कनेक्टिभिटी क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा व्यापक छलफल गरेका छन्।

भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्रमन्त्री खनालले नेपाल भारतसँगको सीमा विवाद वार्ता र आपसी समझदारीबाट समाधान गर्न चाहेको स्पष्ट पारेका छन्। उनले ‘खुला हृदयका साथ छलफल भए कुनै पनि समस्या समाधान हुन नसक्ने हुँदैन’ भन्ने धारणा राखेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

भारतीय विदेशमन्त्री जयशंकरले नेपाल र भारतबीचको सम्बन्धलाई ‘विशेष सम्बन्ध’ को संज्ञा दिँदै वर्तमान अवस्थामा द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने अवसर रहेको बताएका छन्। उनले विकास, ऊर्जा, डिजिटल प्रविधि, पूर्वाधार तथा जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा जोड दिएका छन्।

यसैबीच, भारतीय सञ्चारमाध्यमहरूले नेपालले भारतसँगको सम्बन्धलाई ‘नयाँ सुरुआत’ गर्न चाहेको सन्देश दिएको उल्लेख गरेका छन्। नेपालले विगतका असमझदारीलाई बोकेर अघि नबढ्ने र पारस्परिक सम्मान तथा साझा समृद्धिलाई केन्द्रमा राखेर सम्बन्ध विस्तार गर्न चाहेको सन्देश भारतीय पक्षलाई दिएको समाचारहरूमा जनाइएको छ।

भारतीय मिडियाले यो भ्रमणलाई वर्तमान सरकार गठनपछि भएको पहिलो महत्वपूर्ण कूटनीतिक पहलका रूपमा व्याख्या गर्दै नेपाल–भारत सम्बन्धमा देखिएको चिसोपन अन्त्य गरी सहकार्यको नयाँ अध्याय सुरु गर्ने प्रयासका रूपमा चित्रण गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *