समाचार

साधारण सभा सम्पन्न, ‘अस्ति, हिजो र आज’ सार्वजनिक

श्रावण १०, शनिबार, २०८२
काठमाडौं । मनोहरा साहित्य समाजको तेस्रो साधारण सभा शनिबार काठमाडौंस्थित ग्लोबल स्कुलको सभाहलमा सम्पन्न भएको छ।

सभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो। साथै, आगामी कार्ययोजना पारित गर्नुका साथै आर्थिक वर्ष २०८१/८२ का लागि लेखा परीक्षकको नियुक्तिसमेत गर्ने निर्णय गरिएको छ।

साधारण सभाको दोस्रो चरणमा १०३ औं मासिक रचना वाचन कार्यक्रम सम्पन्न भयो। सोही अवसरमा समाजका अध्यक्ष डिल्लीराज अर्यालको लघुकथा संग्रह ‘अस्ति, हिजो र आज’ को लोकार्पण गरिएको थियो।

लोकार्पण समारोहमा समालोचक प्रतिक ढकालले संग्रहमाथि समालोचना प्रस्तुत गर्दै, “लेखकले छोटो कथामार्फत जीवनका विविध आयामहरू उजागर गरेका छन्। बाल्मीकिको शैलीमा जीवनको यथार्थलाई कथामा प्रस्तुत गर्नु लेखकको विशेषता हो,” भन्ने धारणा व्यक्त गर्नुभयो। ढकालका अनुसार, कथाले रामायणका पात्रहरूमार्फत इतिहासको पुनर्व्याख्या गर्दै पाठकलाई सोच्न बाध्य बनाउँछ।

कार्यक्रमको अध्यक्षता समाजका उपाध्यक्ष जसध्वज गुरुङले गर्नुभयो भने प्रमुख अतिथि प्रमोद प्रधान तथा विशिष्ट अतिथि समालोचक प्रतिक ढकाल हुनुहुन्थ्यो।

नियमित रचना वाचन कार्यक्रममा स्रष्टाहरू जसध्वज गुरुङ, संजय सोती, भालचन्द्र भण्डारी (ब्रम्ह गोल), ढुण्डिराज पोखरेल, रामनाथ अधिकारी, चेबन बस्नेत ‘ठुलाघरे’, भावना न्यौपाने, बासुदेव पौडेल, सरिता तिमल्सिना, छविलाल अधिकारी, ओम आचार्य, बलराम विष्ट, बुद्धिसागर पौडेल, गीता अर्याल, रसिका पाण्डे (बालकवयित्री), कृष्णप्रसाद पौडेल, केशब ज्ञवाली (आगत), धरणी गुरागाईं, राजन न्यौपाने, सरिता दुलाल घिमिरे, घनश्याम प्रसाई, केशब घिमिरे, दिनेश खरेल, सुमन धमला, इन्दु महतो, ब्रम्ह प्रिय प्रेम स्वरूप, कविराज घिमिरे, लालबाबु पोखरेल, अप्सरा पोखरेल, तोयानाथ सुबेदी र रिमा बोहरालगायत करिब तीन दर्जन साहित्यकारहरूले आ–आफ्ना रचनाहरू वाचन गर्नुभएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *