समाचार
ओखलढुगामा बलात्कारका आरोपित जनप्रतिनिधिलाई जेल चलान
ओखलढुंगा / इटाभट्टामा काम गर्ने युवतीलाई बलात्कार गरेको आरोप लागेका ओखलढुंगाका एक जनप्रतिनिधिलाई जेल चलान गरिएको छ । जिल्लाको लिखु गाउँपालिका ३ का वडा सदस्य विष्णु श्रेष्ठलाई शुक्रबार जिल्ला अदालतले पूर्वक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । अदालतको आदेशसँगै वडा सदस्य श्रेष्ठलाई कारागारमा पठाईएको जिल्ला प्रहरी प्रमुख पुष्पराज मल्लले जानकारी दिए । वडा सदस्य श्रेष्ठ विरुद्द परेको मुद्दाको विषयमा अनुसन्धान सकिएपछि पूर्वक्षका लागि चलान गरिएको प्रहरी प्रमुख मल्लको भनाई छ । अब अदालतले उनलाई के कति सजाय दिने भन्नेबारे फैसला गर्ने छ ।
वडा सदस्य श्रेष्ठ आफैले नर्मदेश्वरमा सञ्चालन गरेको इटाभट्टा कारखानामा कामगर्ने कामदार युवतीलाई कारखानामै चैत ७ गते बलात्कार गरेको भन्दै चैत ९ गते उजुरी परेको थियो । पीडित युवती आफैंले जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा पुगेर उजुरी दिएकि थिईन् । बलात्कारको आरोप लागेपछि वडा सदस्य श्रेष्ठ चैत ७ गते देखी नै आफुले प्रयोग गर्ने फोन बन्द गरेर सम्पर्क बिहिन भएका थिए । त्यसको २ महिनापछि प्रहरीले हर्कपुरबाट उनलाई पक्राउ गरेको थियो । श्रेष्ठ स्थानीय निर्वाचनमा नेकपाबाट उमेद्वार बनेर निवार्चित वडा सदस्य हुन् ।




