काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजी आन्दोलनको इतिहासले देशमा नयाँ जागरणको बाटो कोरेको बताएका छन्।
जेनजी दिवसका अवसरमा सन्देश जारी गर्दै लामिछानेले वर्षौँदेखि जरा गाडेर बसेको भ्रष्टाचार, दलीय स्वार्थ, संस्थागत असक्षमता, अधिकार र अवसरको असमानताले सिर्जना गरेको निराशा सडकमा पोखिएको बताएका हुन्।
उनले रास्वपाले एक थोपा पनि रगत नबगाई परिवर्तनको आवाज उठाउँदै स्थापना भएको स्मरण गर्दै युवा पुस्ताले परिवर्तनका लागि सडकमा उत्रिँदा रगत बगेको देख्नुपर्दा पीडाबोध भएको बताएका छन्।
‘अब कहिल्यै यस्तो अवस्था नदोहोरियोस्, देशमा कुनै पनि आमाको काख नरित्तियोस्,’ लामिछानेले भनेका छन्, ‘विधिको शासन र भ्रष्टाचारमुक्त समाज निर्माण गर्नु हाम्रो दायित्व हो।’
उनले आन्दोलनका क्रममा शहीद भएका, अङ्गभङ्ग भएका, घाइते तथा मानसिक चोट व्यहोरिरहेका व्यक्तिको राज्यले उचित हेरचाह गर्नुपर्नेमा जोड दिएका छन्। उनीहरूको पुनर्स्थापनाका लागि राज्य गम्भीर बन्नुपर्ने उनको भनाइ छ।
लामिछानेले डिजिटल युगमा विश्वव्यापी चेतना बोकेका युवाहरूले परम्परागत राजनीतिक शैलीप्रति असन्तुष्टि व्यक्त गरेको बताएका छन्। युवाहरूको भविष्यसँग खेलबाड गर्ने प्रयास स्वीकार्य नहुने उनको भनाइ छ।
उनका अनुसार गत भदौ २३ गतेको आन्दोलन कुनै विशेष राजनीतिक दलले आह्वान गरेको नभई स्वतःस्फूर्त रूपमा युवाहरूले गरेको प्रदर्शन थियो।
लामिछानेले आगामी दिनमा नागरिक समाज र आम जनसमुदायलाई रास्वपामाथि रचनात्मक खबरदारी गर्न पनि आग्रह गरेका छन्।
‘रास्वपा जागरणको आँधीले कोरिएको विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मार्गबाट एक इन्च पनि विचलित नहुने दृढ संकल्प गर्दछ,’ सन्देशमा भनिएको छ।
उनले जेनजी आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते तथा प्रभावित सबैप्रति सम्मान र ऐक्यबद्धता प्रकट गरेका छन्।


