बाजुरा, २२ भदौः शनिबार रातिदेखिको अविरल वर्षापछि विभिन्न ठाउँमा पहिरो जाँदा यहाँको जनजीवन प्रभावित भएको छ ।
लगातारको अविरल वर्षापछि सडक र विद्युत् अवरुद्ध भएपछि जिल्लाको जनजीवन प्रभावित भएको हो । पहिरोले शनिबार रातिदेखि जिल्लाभर विद्युत् र सदरमुकाम मार्तडी जोड्ने साँफे–मार्तडी सडकखण्ड पूर्णरुपमा अवरुद्ध छ ।
लगातारको वर्षाका कारण बडीमालिका नगरपालिका–९ स्थित कारागार मोड, विनोद स्मृति प्रतीक्षालय, सेलागाड, सुवाकाँधलगायतका स्थानमा सडक माथिबाट ठुलो पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
दुई दिनदेखि सडकखण्ड अवरुद्ध हुँदा सदरमुकाम मार्तडीबाट आवतजावत गर्ने लामो तथा छोटो दुरीका सवारीसाधनहरु रोकिएपछि यातायात ठप्प भएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गगनसिंह भाटका अनुसार अवरुद्ध सडकखण्ड सुचारु गर्न आइतबार नै जेसीबी प्रयोग गरेर पहिरो पन्छ्याउने काम सुरु गरिएको थियो । तर दिउँसोबाट पुनःभारी वर्षा सुरु भएपछि रोकिएकोमा आज बिहानबाटै सडक विभागका एउटा जेसीबी र एउटा स्काभेटर लगाएर सडक खोल्ने कार्य भइरहेको भाटले बताउनुभयो ।
रासस


