कांग्रेसमा अनुशासनको डन्डा : देउवा समूहलाई स्पष्टीकरण सोध्ने तयारी, आज अनुशासन समितिको बैठक

+
-

काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद चर्किरहेका बेला केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ। पार्टीको आधिकारिक निर्णयविपरीत गतिविधि भएको भन्दै पूर्वसभापति शेरबहादुर देउवा पक्षका नेता तथा कार्यकर्तामाथि अनुशासनको कारबाही अघि बढाउने विषयमा छलफल गर्न बैठक बोलाइएको हो।

केन्द्रीय कार्यालय बीपी नगर, ललितपुरमा दिउँसो २ बजे बस्ने बैठकमा अनुशासन समितिका सदस्यहरूको उपस्थिति रहनेछ। पार्टीको महाधिवेशन नजिकिँदै गर्दा संस्थापन र इतर समूहबीच विवाद बढेपछि अनुशासन समितिको बैठकलाई चासोका साथ हेरिएको छ।

सभापति गगन थापा नेतृत्वको संस्थापन समूहले आगामी असोज १७ देखि १९ गतेसम्म महाधिवेशन गर्ने नीति तय गरेपछि इतर समूहले पनि छुट्टै महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको थियो। यही विषयलाई पार्टीको निर्णयविपरीत गतिविधिका रूपमा लिँदै अनुशासन समितिले आवश्यक प्रक्रिया अघि बढाउने तयारी गरेको हो।

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साउन २६ गते काठमाडौं फर्किएपछि साउन २९ गते देउवा पक्षले राष्ट्रिय भेला आयोजना गरेको थियो। उक्त भेलाले कांग्रेसभित्रको आन्तरिक विवाद थप चर्काएको थियो।

देउवा नेपाल फर्किएसँगै छुट्टै पार्टी कार्यालय स्थापना गर्ने, बोर्ड राख्ने तथा ‘सभापति शेरबहादुर देउवा’ उल्लेख भएको नेमप्लेट राखिएको विषयलाई समेत पार्टी अनुशासनविपरीत गतिविधिका रूपमा हेरिएको छ।

यसअघि नै केन्द्रीय अनुशासन समितिले पार्टीको निर्णय र विधानविपरीत गतिविधि गर्ने नेता तथा कार्यकर्तामाथि कारबाही गर्ने चेतावनी दिइसकेको थियो। त्यसक्रममा पूर्वसभापति शेरबहादुर देउवा, नेता शशांक कोइरालालगायतका नेताहरू समेत अनुशासनको दायरामा आउन सक्ने संकेत गरिएको थियो।

पार्टीभित्र महाधिवेशनको कार्यतालिकालाई लिएर संस्थापन र इतर समूहबीच मतभेद बढिरहेका बेला अनुशासन समितिको बैठक बस्न लागेको हो। विशेषगरी देउवा समूहले छुट्टै महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेपछि स्पष्टीकरण सोध्ने तथा आवश्यक प्रक्रिया अघि बढाउने उद्देश्यले बैठक बोलाइएको अनुशासन समितिका सचिव दिनेश थापा मगरले बताएका छन्।