कांग्रेस सांसदले भोटेकोसी बाढीपीडितका लागि आधा महिनाको पारिश्रमिक दिने

+
-

काठमाडौ । नेपाली कांग्रेसका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित पीडितहरूको राहत तथा पुनःस्थापनाका लागि आधा महिनाको पारिश्रमिक पार्टीको कोषमा जम्मा गर्ने भएका छन्।

सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सांसदहरूको आधा महिनाको पारिश्रमिक पार्टीको कोषमा जम्मा गर्ने निर्णय गरेको प्रमुख सचेतक वासना थापाले जानकारी दिइन्।

बैठकले बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ता व्यक्तिहरूको खोजी तथा प्रभावित परिवारलाई राहत उपलब्ध गराउने कार्यलाई प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेको छ।

प्रमुख सचेतक थापाले बेपत्ता तथा खोजी भइरहेका व्यक्तिहरूको विवरण संकलनका लागि सहज वातावरण बनाउनुपर्ने बताइन्। संसद्‌मार्फत समेत बेपत्ता व्यक्तिहरूको सूचना संकलन गर्न सकिने उनको भनाइ छ।

उनले सरकारलाई बेपत्ता तथा मृतकको विवरण संकलन गर्न प्रत्येक जिल्लाबाट सूचना संकलन गर्ने व्यवस्था मिलाउन सहज हुने बताइन्