काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की प्रमुख सचेतक क्रान्ति शिखाले पार्टीका सांसदहरूलाई बाढी प्रभावित क्षेत्रमा अनावश्यक रूपमा भिडभाड नगर्न निर्देशन दिएकी छन्।
केही दिनयता रास्वपाका सांसद, मन्त्री तथा नेता–कार्यकर्ताहरू बाढी प्रभावित क्षेत्रमा पुगेका तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक हुन थालेपछि त्यसको आलोचना भइरहेको छ। विपद्को समयमा उद्धार तथा राहतमा भन्दा फोटो र भिडियो खिच्ने तथा सामाजिक सञ्जालमा प्रचार गर्ने गतिविधि बढेको भन्दै आलोचना भएपछि सांसदहरूलाई सचेत गराएकी हुन्।
उनले विशेषगरी विपद्का दृश्य खिच्ने, सामाजिक सञ्जालमा सार्वजनिक गर्ने तथा राहत–उद्धार व्यवस्थापनमा अनावश्यक स्टन्टबाजी नगर्न आग्रह गरेकी छन्।
सामाजिक सञ्जालमार्फत उनले सबैलाई सुरक्षित रहन आग्रह गर्दै विपद्को समयमा सकेसम्म प्रभावित नागरिकलाई सहयोग गर्नु सबैको जिम्मेवारी भएको बताएकी छन्।
उनले भनेकी छन्, “विपद् प्रभावित क्षेत्रका सांसदहरू आवश्यकताअनुसार सम्बन्धित क्षेत्रमा जानुहोला। अन्य सांसदहरूले पनि अनावश्यक रूपमा प्रभावित क्षेत्रमा जानेभन्दा आफ्नै स्थानमा सहयोग र समन्वय गर्नुहोला।”
उनले विपद्को समयमा देखावटीभन्दा प्रभावकारी सहयोग र समन्वयमा ध्यान दिन पार्टीका सांसद तथा नेता–कार्यकर्तालाई आग्रह गरेकी हुन्।


