ललितपुर । नेपाली कांग्रेसका सभापति गगन थापाले विपद्को समयमा नेपालले आवश्यकताअनुसार विदेशी सहयोग स्वीकार गर्न तत्परता देखाउनुपर्ने बताएका छन्।
आइतबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा पार्टीका पदाधिकारीहरूसँग भएको भेटघाट तथा छलफलमा थापाले उद्धार तथा राहतका लागि मित्रराष्ट्रहरूले उपलब्ध गराउने सहयोगलाई प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने बताएका हुन्।
भोटेकोशीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएपछि विभिन्न देशले नेपाललाई उद्धार, राहत तथा प्राविधिक सहयोगको प्रस्ताव गरेका छन्। विदेशी उद्धार टोली परिचालन गर्ने विषयमा भने सुरक्षा संवेदनशीलता र जासुसी गतिविधिको सम्भावनालगायतका विषय उठाउँदै नेपालले केही टोलीलाई तत्काल स्वीकार नगरेको समाचार सार्वजनिक भएका छन्।
यसैबीच चीनले नेपालका बाढी प्रभावितका लागि ५० टन राहत सामग्री नेपाल पठाएको छ। चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई–२० विमानमार्फत राहत सामग्री आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो।
विमानबाट ल्याइएको राहत सामग्री चिनियाँ राजदूतले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई हस्तान्तरण गरेका छन्।
चीनसँगै छिमेकी भारतलगायत विभिन्न देशले पनि बाढीपीडितका लागि राहत, उद्धार तथा आर्थिक र प्राविधिक सहयोग गर्न तत्परता देखाएका छन्।
यसै सन्दर्भमा सभापति थापाले विपद्को समयमा प्राप्त हुने अन्तर्राष्ट्रिय सहयोगलाई आवश्यक सुरक्षा तथा समन्वयको व्यवस्था मिलाएर जनताको जीवन बचाउने कार्यमा प्रयोग गर्न सरकार गम्भीर हुनुपर्ने धारणा राखेका छन्।


