काठमाडौ । नेपाली हिन्दू महिलाहरूको महत्त्वपूर्ण पर्व तीज नजिकिएसँगै तीज गीतहरू सार्वजनिक हुन थालेका छन्। हरेक वर्षझैँ यस वर्ष पनि गीतकार देवी पराजुलीको रचनामा रहेको तीज गीत ‘ताली बर र’ सार्वजनिक भएको छ।
मौलिक शब्द र लोकलयमा आधारित संगीत संयोजन रहेको उक्त गीतमा गायिका जुनु प्रसाईंले स्वर दिनुभएको छ। गीतको अडियोसँगै भिडियो पनि सार्वजनिक गरिएको छ।
गीतको निर्देशन तथा कोरियोग्राफी दीपक पन्तले गर्नुभएको हो। भिडियोमा रूपा बुढा र पवन खतिवडाले मुख्य नायक–नायिकाको भूमिका निर्वाह गरेका छन्। वर्ड कभर मिडियाको पोस्ट प्रोडक्सन रहेको भिडियोको छायांकन, सम्पादन तथा कलर ग्रेडिङ विरेन्द्र भाट ‘बिपिन’ले गर्नुभएको हो।
काठमाडौंको बूढानीलकण्ठस्थित राधाकृष्ण मन्दिरमा छायांकन गरिएको गीतको भिडियोमा स्थानीय कलाकारहरूको समेत अभिनय रहेको छ।
गीतकार देवी पराजुलीको आफ्नै युट्युब च्यानलमार्फत ‘ताली बरर’ हेर्न तथा सुन्न सकिन्छ।
विगत लामो समयदेखि गीत लेखनमा सक्रिय पराजुलीका यसअघि ‘माइत रमाइलो’, ‘लगनको साडी’ र ‘कसो गरौँ मैले’लगायत तीज गीतहरू सार्वजनिक भइसकेका छन्। ‘ताली बरर’ उहाँको चौथो तीज गीतिसङ्ग्रह हो।
यस वर्ष सार्वजनिक गरिएको ‘ताली बरर’ गीतले दर्शक तथा श्रोताको मन जित्ने अपेक्षा गीतकार पराजुलीले गर्नुभएको छ। गीतको सफलतासँगै आगामी वर्षहरूमा पनि श्रोता तथा दर्शकका लागि नयाँ गीतहरू लिएर आउने तयारी रहेको उहाँले जानकारी दिनुभयाे ।

